मदिरामा मस्त नौ जनालाई गोली हानेर हत्या

ग्वानाजुआन्टोे – मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन् । घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधबार राति भएको हो । 

    मेक्सीको डेली पोष्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका सातजनाले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना पुरूष र सात जना महिला मारिएका छन् । बारका सञ्चालक पनि आक्रमण मारिएको आशङ्का गरिएको छ । एउटा गाडीमा दुई जनाको शव भेटिएको थियो । आक्रमणका क्रममा बारबाट भागेका उनीहरूलाई गाडीमा गएर गोली प्रहार गरिएको आशङ्का सुरक्षाकर्मीले गरेका छन् । आक्रमणकारीको व्यापक खोजी भइरहेको छ । 

    उक्त बारमा आक्रमण हुनुको कारण खुलेको छैन । पछिल्ला दिनमा ग्वानाजुआन्टोका बारमा गोली प्रहारका घटना बढिरहेका छन् ।  ग्वानाजुआन्टोमा इन्धन चोरी एवम् तस्करी पनि बढेको छ । गत महिना राज्यको इरापुटो सहरस्थित एउटा बारमा प्रवेश गरेका अज्ञात बन्दुकधारीले १२ जनाको हत्या गरेका थिए । गत सेप्टेम्बरमा तारिमोरो नगरपालिकामा सशस्त्र आक्रमणकारीले गोली हानेर १० जनालाई मारेका थिए । 

रासस÷एएनआई

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : २७ बजे