सत्ता पक्ष नै आचारसंहिता उल्लङ्घनमा, रुपन्देहीमा आठ जनालाई स्पष्टीकरण

रुपन्देही । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता २०७९ लागू गरेको छ । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आचारसंहिता जारी गरे पनि रुपन्देहीमा सत्ता पक्ष पनि आचारसंहिता उल्लङ्घनमा अगाडि देखिएको छ । 

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कसैलाई छुट नहुने भनिरहँदा पनि सत्ताको आडमा केहीले संरक्षण पाएका छन् भने केही स्पष्टीकरणको भागीदार बनेका छन् ।

निर्वाचनलाई अस्वाभाविक भड्किलोपन प्रदर्शन नहोस् र खर्चको सीमामा उम्मेदवारले निर्वाचन सम्पन्न गराउन आयोग लागे पनि आचारसंहिता विपरीत गतिविधि गरेको आठ जनालाई रुपन्देहीमा स्पष्टीकरण सोधिएको छ । 

निर्वाचन आचारसंहिता अनुगमन समितिले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी र सूचनाको आधारमा सत्ता पक्ष ६ दलीय गठबन्धनका रुपन्देही ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका भरत शाह, सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार नेपाली काँग्रेसका फाकरुद्दीन खानलाई रङ्गिन पोस्टर टाँसेको, गठबन्धन कै समर्थनमा उम्मेदवार बनेका रुपन्देही २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले कलर भिजिटिङ कार्ड वितरण गरेकोमा समितिले स्पष्टीकरण सोधेको हो ।

रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हाम्रो नेपाल पार्टीका भीष्मकुमार राना र रुपन्देही ३ जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार राउत , प्रदेशसभा (क) का सलाउद्दीन आलमलाई लिखित स्पष्टीकरण सोधिएको आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

रोहिणी गाउँपालिकाले कुस्ती प्रतियोगिता गराई पुरस्कार वितरण गरेको भन्दै पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधिएकोमा जवाफ आइसकेको छ । चार वटा लिखित उजुरी र सूचनाको आधारमा एक स्थानीय जनप्रतिनिधि, एक प्रशासकीय अधिकृत र ६ उम्मेदवार सबैलाई बेग्लाबेग्लै पत्र समितिले पठाएको छ ।आचारसंहिता उल्लङ्घन भए कारबाही प्रक्रिया अघि बढाइने समितिले जानकारी दिएको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली काँग्रेस नै अगाडि रहेको छ । अरू उम्मेदवार पनि त्यसैलाई आधार बनाएर गरिरहेका छन् । सबैलाई दायरामा ल्याउन समिति लागे पनि सोचेअनुरूप कारबाही गर्न नसकिएको समितिका एक सदस्यले जानकारी दिनुभयो। “हामीले कसैलाई काखा कसैले पाखा गर्न मिल्दैन फोनमार्फत धेरै उजुरी आएको छ, प्रशासनबाट पनि अझै केही समय पर्खौँ भन्ने कुरा आएको छ” उहाँले भन्नुभयो ।

ब्यानर लगाएर डिजे बजाउने, बालिका नचाउने, कार्यपालिका पदाधिकारी र सदस्यहरू प्रचारमा हिँड्ने, चुनाव चिन्हसहित चकलेट बाँड्ने, पोस्टर तथा ठुला ठुला ब्यानर लगाउने, आक्षेपपूर्ण अभिव्यक्ति दिने, भोजभतेर, अनुमतिविना सवारीसाधन चलाउने, झण्डा राख्ने जस्ता गतिविधि अधिकांश सत्ता पक्षकै गठबन्धनबाट भइरहेको उजुरी परेको छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (१) मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यकताअनुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा (२) ‘उपदफा (१)बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लङ्घन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ । उपदफा (३) मा दफाको उपदफा (२) बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ११ : ३० बजे