आचारसंहिता सबैलाई समान रूपमा लागू हुन्छ : आयुक्त भण्डारी

चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समान रूपमा लागू हुने भएकाले यसमा साना वा ठुला दल भन्ने प्रश्न नआउने बताउनुभएको छ । 

निर्वाचन आयोग र नेपाल कानुन समाजले मङ्गलवार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्ण रूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।” 

दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उहाँले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारहरूको कर्तव्य हुने बताउनुभयो । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरू पनि चनाखो हुनु पर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : २२ बजे