‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

बर्दिया ।​​​​​​​ जिल्ला अदालत बर्दियाले ३० वर्ष कैद सजाय सुनाएको एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्री छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत बर्दियाले २०७३ पुस २४ गते उनलाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी कुल ३० वर्ष कैद सजाय सुनाएको थियो । 

त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले दाउ प्रहार गरी हत्या गरेका थिए । 

हत्या गरी फरार भएका अजिबलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

बयान दिने कार्य सम्पन्न भएपछि शौचालय जान्छु भन्ने बहाना गरी अजिब शौचालयको भ्यान्टिलेसनबाट निस्की फरार भएका थिए । 

सोमबार पक्राउ पश्चात उनलाई बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १ : ४८ बजे