सुर्खेत कारागारमा एक सय एक मतदाता

सुर्खेत । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका एक सय एक कैदीबन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्नेछन् । कारागार कार्यालयबाट एक सय दुईजना कैदीबन्दीको नामावली निर्वाचन आयोगमा पठाइएकामा एकजनाको नाम मात्र मतदाता नामावलीबाट छुटेको उहाँले बताउनुभयो । 
कारागारमै मतदान केन्द्र तोकिएकाले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ । 

विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा तीन सय ७२ कैदीबन्दी छन् । 

कारागार कार्यालयका अनुसार तीन सय ३२ पुरुष, ४० महिला र आश्रित चार बालबालिका छन् । मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरु अस्थायी मतदाता बन्न पाउने व्यवस्था छ ।
 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : २७ बजे