राष्ट्रियता र विकास मुख्य अभिभारा

आज म दार्चुलाको सदरमुकाम खलङ्गामा पहिलोपल्ट आइपुगेको हुँ । यसभन्दा अगाडि २०७० म गोकुलेमा आएको थिएँ । त्यहाँ मैले यस्तै विशाल आमसभालाई सम्बोधन गर्ने मौका पाएको थिएँ । यस ठाउँमा म आज विशेष उद्देश्यका साथ आएको छु । दुई चार वटा कुरा दार्चुलाबाट, सुदूरपश्चिमबाट हामीले अभियान किन सुरु गर्‍यौँ, किन गर्दैछौँ ? हामी दार्चुलाबाटै किन सुरु गर्दैछौं ? दुई वटा कुरा राष्ट्रियताको प्रश्न र विकासको प्रश्नमा यहाँहरूमा जोड दिन चाहन्छु । पछाडि परेको क्षेत्र र पछाडि परेको समुदायलाई नेकपा (एमाले) ले समस्या समाधान गरेर अगाडि बढाउँछ, विकासको मूलधारमा लान्छ भन्ने कुराको सन्देश यहाँबाट प्रवाह गर्न सुरु गर्न चाहन्छु ।

राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ र संसद्ले सर्वसम्मत पारित गरेको छ । त्यो कुरा म यहाँहरूसँग आज फेरि ग्यारेन्टी गर्न चाहन्छु ।

हामीले चुनावी घोषणापत्र सङ्घीय र प्रदेश निर्वाचनहरूका लागि २०७९ सालको निर्वाचनको चुनाव घोषणा जारी गरिरहँदा हामीले २० वटा ग्यारेन्टी गरेका छौँ । बालबच्चादेखि, युवा, रोजगारी, कामका अवसर, स्वरोजगार सिर्जना गर्ने कुराहरू, उद्यमशीलताको विकास गर्ने कुराहरूदेखि लिएर महिलाका लागि, सुकुम्वासीहरूका लागि यी कामहरू गरेका छौँ । सँगसँगै हामीले नदी नियन्त्रणलगायत सम्पूर्ण कुराहरूमा ध्यान दिएका छौँ ।

कहीँ केही समस्या पर्दा नेकपा (एमाले) जहिले पनि हाजिर हुन्छ । भुईँचालो गयो । २७ हजार २७६ घर पार्टीले बनायो, सरकारी खर्चमा होइन । त्यति बेला सरकारमा एमाले थिएन । पार्टीले निर्माण गरेर पीडितहरूलाई तत्कालका लागि हस्तान्तरण गरेको थियो । सरकारमा हुँदा साढे सात लाख घर निर्माण गरेर पीडितहरूलाई हस्तान्तरण गरेको थियो । बारा पर्सामा हावाहुरीले घरहरू भत्काएपछि केही महिनाभित्र पक्की घर बनाएर पीडितहरूलाई हस्तान्तरण गरेका थियौँ । कहीँ पनि नेपालमा अब फुसको छाना हुनु हुँदैन भनेर फुसको छाना हटाउने टिनको छाना लगाउने अभियान नेकपा (एमाले) को सरकारले म प्रधानमन्त्री हुँदा हामीले सुरु गरेका थियौँ । दार्चुलामा कतै फुसको छाना छ भने टिनको छाना सरकारले हाल्दिन्छ, तपाईँहरू ढुक्क भए हुन्छ बाँकी छ भने । हालिसकेको छ भन्ने ठान्छु ।

ठूलो भारतको सानो चित्त हुनुहुँदैन
दार्चुलाका समस्याहरू मलाई थाहा छ । यहाँबाट कुन बाटो खोलेर चीनसम्म जाने ? टिङ्कर भञ्ज्याङ्को बाटोका लागि पनि ७०–७५ किलोमिटर चट्टाने बाटो खोल्नुपर्ने छ । भारतले हाम्रो भूभागबाट अनावश्यक ढङ्गले बनाएर बेकारको झमेला निकाल्यो । हामी आफैँ बनाउने थियौँ । म भारतलाई अहिले पनि भन्न चाहन्छु, नदी वरतिर सर्‍यो भनेर सीमा वरतिर सर्ने होइन । पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन । ठुलो भारतको सानो चित्त हुनु हुँदैन । ठुलो भारतले सानो चित्त गर्ने होइन । खोलो उता सर्‍यो कि सीमाना सारिहाल्ने ! यति विशाल भारत छ, थोरै चिम्टी सीमाना सार्छ । यो सुहाउँदैन । नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रूपमा बुझ्छन् । त्यो कुरा भारतले गर्नुहुँदैन । म भारतका नेताहरूलाई भनिरहेको छु । कुराकानीमा मैले यो कुरा उठाएको छु। यहाँ पक्की पुल बन्नुपर्छ । 

तुइनका ठाउँमा पुल बन्छन्
मैले भारत भ्रमणमा जाँदा उत्तराखण्डमा प्रधानमन्त्रीको हैसियतले जाँदा त्यहाँको कृषि विश्वविद्यालयको भ्रमणमा जाँदा त्यस बेला माननीय गणेश ठगुन्ना पनि मेरो साथै हुनुहुन्थ्यो । मैले पारिपट्टिका गभर्नर र मुख्यमन्त्री राखेर गणेश ठगुन्नाजीलाई पनि राखेर तपाईँहरू स्थानीय तवरमा कुरा गर्नुस्, अब झोलुङ्गे पुल बनाउन रोक्नु हुन्न, तुइनबाट काम चल्दैन, हामी झोलुङ्गे पुल बनाउँछौँ, तपाईँहरूले सहमति गर्नुपर्छ, हामी पक्की पुल बनाउँछौँ, तपाईँहरूले सहमति गर्नुपर्छ भन्यौँ। दिल्लीले पनि सहमति जनायो, उत्तराखण्डले पनि सहमति जनायो । झोलुङ्गे पुलहरू बनेका छन्, कहीँ पक्की पुलहरू बनेका छन् । म तपाईँहरूलाई भन्न चाहन्छु, चुनावपछि यहाँ पनि पक्की पुल बनाइनेछ । दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाइनेछ । 

मङ्सिर ४ पछि म किन भन्दैछु, तपाईँहरूलाई राम्ररी थाहा छ । तपाईँहरूले नारा बनाउनुभएको छ । मङ्सिर ४ ! के भन्नुहुन्छ तपाईँहरू ? (जनताबाट) ओली सरकार । मङ्सिर ४ ! ओली सरकार, मङ्सिर ४ ! ओली सरकार । यो कुरा देशले सुनेको छ । दार्चुलाले त्यसका निम्ति गणेश ठगुन्नालाई बहुमतको सरकार बनाउन एउटा सांसद यहाँबाट पठाउने छ । यहाँ उपस्थित भएको जनसमुदायको यस जनसागरले । 

यो कुनै सुगम ठाउँमा होइन, रेल पनि चलेको, ६ लेनका बाटा भएको, बाटैबाटाले भरिएको जनकपुर जस्तो ठाउँमा यो सभा गरिएको होइन । दार्चुला जस्तो भीर पहराले भरिएको ठाउँमा यो सभा गरिएको छ । यसले के बताउँछ ? एमालेले आजबाट सुरु गरेको यो प्रचार अभियान, यस राष्ट्रिय अभियानको सुरुवातले के देखाउँछ ? अङ्ग्रेजीमा भनिन्छ– “मोर्निङ सोज द डे ।” बिहानले दिउँसो कस्तो हुनेछ भन्ने देखाउँछ । दिउँसोको मौसम कस्तो हुन्छ, बिहानले नै बताउँछ । यस सुरुको सभाले, पहिलो सभाले, बत्ती बालेको सभाले हाम्रा विरोधीहरूका आँखा तिर्मिराएका छन् । हामीले दार्चुलाबाट बाल्न सुरु गरेको बत्तीले नेपाली जनताका आँखा प्रकाशमय हुनेछन्, छर्लङ्ग हुनेछन् । गठबन्धनले फिँजाएका भ्रमहरू समाप्त पार्नेछ ।

आज हामीसँग धेरै समय छैन । चुनावपछि म फेरि तपाईँहरूको बीचमा आउने छु । एक दिन दार्चुला बस्ने गरी आउने छु । यहाँका हाम्रा युवा भाइबहिनीहरूले, विद्यार्थीहरूले र अरू अनेक दाजुभाइ दिदीबहिनीहरूले फोटो खिचाउने रहर पनि पूरा गर्न पाउनुभएको छैन । त्यो रहर पनि पूरा गर्नु पर्नेछ । त्यस कारण म चुनावपछि फेरि दार्चुला आउने छु । एक दिन यहाँ भेटघाट कार्यक्रम गर्नेछु । तपाईँहरूको रहर पुग्ने गरी फोटो खिच्न म एक दिन बस्ने गरी आउने छु ।

खलङ्गा बजार बग्न दिइँदैन 
आज म के भन्न चाहन्छु भने दार्चुला जिल्लाको सदरमुकामको खलङ्गाको एउटा मुख्य समस्या नदी नियन्त्रणको तटबन्धनको समस्या छ । म तपाईँहरूलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु– तटबन्धन नेकपा (एमाले) ले गर्छ । महाकाली नदीले दार्चुला र खलङ्गा बजार भत्काउन, बगाउन पाउने छैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ र म गर्छु ।

म धेरै समय नलिऊँ । यहाँ दिलेन्द्र बडु उम्मेदवार हुनुहुन्छ कि क्या हो, हँ ? अब यो सभा देखेपछि दिलेन्द्र बडुजीले काठमाडौँमै बसे हुन्छ । अब यता दुःख नगरे हुन्छ । म तपाईँहरूलाई भन्न चाहन्छु– दिलेन्द्र बडुजी मन्त्री भएर उहाँले के गर्नु भयो ? कालापानीको ‘क’ भन्ने आँट गर्नु भयो उहाँले ? काठमाडौँमा हुँदा दार्चुला सम्झिनुभयो उहाँले ? भोट चाहिएका बेला उहाँले दार्चुला सम्झिनु होला तर काठमाडौँमा हुँदा उहाँले दार्चुला सम्झिनु हुन्न । तपाईँ दार्चुलावासी दाजुभाइ

दिदीबहिनीहरूलाई सम्झिनु हुन्न । यहाँका समस्याहरू सम्झिनु हुन्न । यहाँको उत्पादन कसरी वृद्धि गर्ने, त्यो उत्पादनलाई यहाँ उपभोग्य वस्तुहरू उत्पादन गरेर यहाँको बजारलाई, यहाँको ठाउँलाई आत्मनिर्भर कसरी बनाउने, यहाँ पनि घरेलु उद्योगहरू स्थापना गर्न सकिन्छ, यहाँ पशुपालन गर्न सकिन्छ, यहाँ दूधमा आत्मनिर्भर हुन सकिन्छ, अन्नमा सकिएन भने अरू चिजमा आत्मनिर्भर हुन सकिन्छ । त्यस कारण हामी आफ्नो चिज महँगोमा बेच्न सक्छौँ। सस्तोमा चिजहरू किन्न सक्छौँ।  

हामीसँग चरिचरण प्रशस्त छ । जडीबुटीहरू प्रशस्त छन् । जडीबुटी लगाउने, जडीबुटी सङ्कलन गर्ने, प्रशोधन गर्ने, परीक्षण गर्ने, औषधिको रूपमा परिणत गर्ने र त्यसलाई बजारमा पुर्‍याउने ती काम गर्न सकिन्छ । यहाँ भेडा पालन, चौँरी पालन अनेक चिजहरू गर्न सकिन्छ । त्यसको दूध र चिजहरू बनाउन सकिन्छ र त्यो निर्यात गर्न सकिन्छ ।

आज दार्चुला विश्वले चिन्ने भएको छ । आज कालापानी विश्वले चिन्ने भएको छ । कालापानीको, दार्चुलाको, व्यास हिमालको फेदको छुर्पी भनेपछि नचपाउने को होला ? व्यास हिमालका फेदको, ओम हिमालका फेदको चिज भनेपछि खान मन नपराउने को होला ? तर, हामीले उत्पादन गर्न र बजार पठाउन सकेका छैनौँ । त्यसको व्यवस्था, त्यसको संयोजन अब नेकपा (एमाले) ले गर्छ । त्यसका लागि म यहाँ दार्चुला आएको छु । तपाईँहरूसँग भेट्न आएको छु । तपाईँहरूको उत्साहलाई हेर्न आएको छु । म तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । 

तपाईँहरूको यो उत्साह, एमालेप्रति तपाईँहरूको यो विश्वास अत्यन्तै सह्रानीय प्रशंसनीय छ । म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईँहरूको आशा निराशामा परिणत हुनेछैन भन्ने कुरा म ग्यारेन्टी गर्न चाहन्छु । तपाईँहरू जुन आशा लिएर यहाँ जम्मा हुनुभएको छ, त्यो निराशामा परिणत हुँदैन । तपाईँहरूले जुन अठोट लिएर आउनुभएको छ, त्यस अठोटलाई अझ व्यापक बनाउनुस् । अत्यधिक मतले गणेश ठगुन्ना र रामदत्त जोशी र हरदेव जोशीसमेतलाई विजयी बनाउनुस् । हामीले केन्द्रमा सरकार बनाउनु छ, प्रदेशमा सरकार बनाउनु छ । त्यस कारण म तपाईँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।

अरू दुई ठाउँमा हाम्रा कार्यक्रमहरू छन् । बैतडीमा पनि कार्यक्रम छ । कञ्चनपुरमा पनि कार्यक्रम छ । दाजुभाइ दिदीबहिनीहरू अगाडिदेखि जम्मा भएर बस्नुभएको छ । तपाईँहरूलाई थाहा छ, अरू काम हुन्छन् पुग्दापुग्दैका । जस्तो म यहाँ आएको पनि निकै बेर भइसक्यो । कहिले के कुरामा लाग्यौँ, कहिले माल्यार्पणमा लाग्यौँ । जसले गर्दा यहाँ आइपुगेपछि पनि तपाईँहरूका बीचमा आउन पनि १ घण्टा लाग्यो । हामीले कञ्चनपुरको पनि सभा भ्याउनु पर्नेछ ।

म तपाईँहरूलाई भन्न चाहन्छु– पूर्वपश्चिम राजमार्ग होस् कि महाकाली करिडोर होस्, एमालेबाहेक कसले बनायो ? दार्चुलामा बाटो एमालेले ल्याइपुर्‍याएको हो । बाटो सिमानासम्म पुर्‍याउने लक्ष्य एमालेले राखेको छ तर त्यो एक दुई वर्षमा अलिक सम्भव भइहाल्दैन किनभने ८०/८५ किलोमिटर त चट्टान फोर्नुपर्छ । त्यस कारण सजिलो छैन । हुम्लाको सिमिकोटसम्म पुग्न अब केही किलोमिटर मात्रै हामीले खोल्नुपर्दा हामीलाई केही समय लाग्यो सेनालाई दिँदा पनि । यहाँ पनि ठेकदारले बनाउन सक्दैन, सेनालाई दिनुपर्छ र सेनाले त्यो बाटो बनाउन पनि केही वर्ष लाग्छ । तर, यहाँबाट पनि सीमासम्म जोड्ने हाम्रो प्रयास हुनेछ । भारत आफूले सीमासम्म जोड्छ । भारतले बाटो हाम्रो भूमिबाट लगेर चीनको सीमासम्म जोड्छ । हामीले सीमासम्म जोड्यो भने उसलाई चित्त दुख्छ, के भएको त्यो ? त्यस कारण यस्तो हुनुहुँदैन । 

यहाँ पक्की पुल बनाउनेदेखि लिएर सीमा नमिचीकन हाम्रो आफ्नो ठाउँबाट पर्खाल लगाउन, आफ्नो ठाउँबाट नदी नियन्त्रण गर्न पनि म भारत सरकारलाई आग्रह गर्न चाहन्छु । उहाँहरूले आफ्नो ठाउँबाट गर्नुपर्‍यो । आफ्नोतर्फ हामी सीमा नमिचीकन लगाउँछौँ ।

म दुःख व्यक्त गर्न चाहन्छु– केही दिन अगाडि मात्रै पारिपट्टिको ब्लास्टिङले हाम्रो बच्चीको निधन भयो । म दुःख व्यक्त गर्न चाहन्छु । कम्पनीले गल्ती भयो भनेर गल्ती स्वीकार गरेको छ किनभने सरकार बोलेर होइन, हामी बोलेर । सुन्ने बित्तिकै मैले तत्कालै वारिका जनतालाई सूचना नगरी त्यस्तो काम गर्नु गलत भयो र हाम्रो बच्चीको ज्यान जाने कुरा बहुत दुःखको कुरा हो । यसमा उनीहरूले क्षमा माग्नुपर्छ, क्षतिपूर्ति दिनुपर्छ भनेर मैले आवाज उठाएपछि बल्ल सरकारले एउटा पत्र बल्ल भोलि कि पर्सिपल्ट लेख्यो । तर, कम्पनीले गल्ती महसुस गरिसकेको थियो । 

दार्चुला आएको यस अवसरमा म राष्ट्रवादी नेता, यसै ठाउँका नेता कालापानीका बारेमा आवाज उठाउने प्रेमसिंह धामीलाई स्मरण गर्न चाहन्छु । मैले उहाँको सालिकमा गएर माल्यार्पण गरेको छु र यस कुरालाई स्थापित गर्दा सन् १९९६ मा मेरै नेतृत्वमा कमिटी बनेको थियो । त्यस कमिटीको सदस्य माननीय प्रेमसिंह धामी पनि हुनुहुन्थ्यो । हामीले कालापानी र यो महाकाली नदीको शिर लिम्पियाधुरा हो भनेर त्यस बेला पनि भनेका थियौँ । त्यस बेला हामीले पत्ता लगाएका थियौँ, निर्धारण गरेका थियौँ र त्यो कुरा हामीले सरकारसमक्ष प्रस्तुत गरेका थियौँ । मलाई गर्व लाग्छ । पछि आएर हामीले त्यसै आधारमा नेपालको सीमाना अहिले पहिले भनिएको जस्तो होइन, एउटा नक्कली किर्ते खोल्सीलाई महाकाली भनेर एउटा डोबिल्को बनाएर, त्यसलाई कालिदह बनाएर एउटा मन्दिर बनाएर काली मन्दिर भनेर त्यहीँबाट पैदा भएको हो महाकाली भनेर खोलो एकातिर छ, तिरतिरे अर्कातिर छ । यो खोल्सीलाई सीमा भनेर नेपालीलाई अब झुक्याउन मिल्दैन । कालापानी, लिम्पियाधुरा लिपुलेक गुमाएको हामीले ६० वर्ष भयो । अब फिर्ता हुनुपर्दछ । यो राष्ट्रिय अभिभारा हो । यो राष्ट्रिय अभियान । यो देशभक्तिको जागरण यो नेपाली जागरण हो । 

स्वार्थीहरूको गठ जोडबाट देश बन्दैन
विकासको अभियानका लागि, शान्ति सुव्यवस्था, सुशासनका लागि, समृद्धिका लागि होइन यो गठ जोड, ५ दल, ६ दल, ७ दल मिलेर ७ तिर फर्किएकाहरूको स्वार्थको गठ जोड हो । यस चुनावमा देशभक्त शक्ति, राष्ट्रवादी शक्ति, विकास प्रेमी शक्ति, शान्तिपूर्ण ढङ्गले अगाडि बढ्ने शक्ति, स्थायित्व र स्थिरताका लागि काम गर्ने शक्ति, दृष्टिकोण, नीति र कार्यक्रम लिएर देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेको राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक छ । गठबन्धनले होइन, नेकपा (एमाले) जस्तो राष्ट्रिय शक्तिले जित्नुपर्दछ । म गठबन्धनलाई चुनौती दिन चाहन्छु– गठबन्धनले एमालेले गरेको सभाभन्दा ५/६ दलले गरेको सभा आधा जनसङ्ख्याको उपस्थिति गराएर देखाऊ, म चुनौती दिन चाहन्छु । सम्भव छैन ।

आज राष्ट्रिय शक्ति निर्माणको आवश्यकता छ । विभिन्न टाला जोडेर पुतली बनाउने होइन । सरकार कुनै टाला जोडेर पुतली बनाउने होइन । एमाले जस्तो राष्ट्रिय शक्ति, देशभक्त शक्ति त्यस्तोको बहुमतको सरकार बनाउनुपर्छ । यसका निम्ति यहाँहरूले ध्यान दिनुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छु ।

मिचिएको भू-भाग फिर्ता ल्याउँछौं
लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको हाम्रो भूभाग फिर्ता ल्याउने छौँ। यो देशमा स्थायित्व र स्थिरता कायम गर्ने छौँ । बलियो राष्ट्रिय शक्ति निर्माण गर्नेछौँ। देशलाई सही बाटो, सही तरिकाबाट विकासको मार्गमा अगाडि बढाउने छौँ । सुकुम्वासीका समस्या, गरिब जनताका समस्या, पछाडि परेका जनताका समस्या, युवाहरूका समस्या समाधान गर्दै सामाजिक न्याय र समानतासहितको समृद्धि हासिल गरेर अगाडि बढ्ने छौँ। नेकपा (एमाले) को तर्फबाट यी कुराहरूको प्रतिबद्धता जाहेर गर्दै, ग्यारेन्टी जाहेर गर्दै म तपाईँहरूसँग फेरि एक पटक एमालेको विजयी सुनिश्चित गर्न गणेश ठगुन्नालगायत ३ वटै क्षेत्रमा विजयी बनाएर पठाउन  विनम्र आग्रह गर्दै आफ्नो भनाई टुङ्ग्याउँछु । धन्यवाद !

(नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७९ कात्तिक १८ गते दार्चुलाको खलङ्गामा आयोजित विशाल चुनावी सभालाई गर्नुभएको सम्बोधनको सम्पादित पूर्ण पाठ)

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ४० बजे