एमाले अध्यक्ष ओलीले आज गण्डकीका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन वटा जिल्लामा हुने चुनावी आमसभालाई सम्बोधन गर्नुहुने भएको छ ।

एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालका अनुसार अध्यक्ष ओलीले आज  ११ः०० बजे पोखराको राष्ट्रिय सभागृहमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसलगत्तै अध्यक्ष ओलीले बागलुङको बुर्तिवाङमा हुने कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने छ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको र विशाल जनमानसको उपस्थितिमा आमसभा आयोजना गरिन जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो । 

दिउँसो २ः०० बजे अध्यक्ष ओलीले स्याङ्जाको सदरमुकाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने सचिव अर्यालले जानकारी दिनुभयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा निर्वाचन आयोगले यही कात्तिक १७ गतेदेखि १५ दिन निर्वाचन प्रचारप्रसारको समयावधि निर्धारण गरेको छ । 

अध्यक्ष ओलीले कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कन्चनपुर जिल्लाका आमसभालाई सम्बोधन गर्नुभएको थियो ।  

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २९ बजे