गुठी समस्या समाधान गर्न एमाले सरकार आवश्यक : महासचिव पोखरेल 

दाङ । नेकपा (एमाले) का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेल ले दाङको गुठी समस्या समाधान गर्न एमाले सरकार आवश्यक रहेको बताउनुभएको छ । 

नेकपा (एमाले)घोराही– १४ ले आइतबार झिगौरामा आयोजित चुनावी कार्यक्रममा महासचिव पोखरेलले एमालेले मात्रै गुठी समस्या समाधान गर्ने बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले गुठी समस्या समाधान गर्न गुठी ऐन संशोधनका लागि विधेयक ल्याएको थियो तर त्यसमा भएका सकारात्मक पक्षको अध्ययन नै नगरी काठमाडौँमा विरोध भएपछि विधेयक अगाडि नबढाइएको जानकारी गराउँदै महासचिव पोखरेलले भन्नुभयो–“यो समस्या बुझेरै एमालेले ऐन संशोधनको प्रयास गरेको हो । फेरि एमाले सरकार बन्छ अनि वर्षौँ देखिको गुठी जमिनका किसानका समस्या समाधान हुन्छ ।”

महासचिव पोखरेलले भन्नुभयो– “एमाले सरकारमा गएपछि काठमाडौँको गुठी समस्या अलग हिसाबले समाधान गर्छौँ । दाङलगायत देशभरको गुठी समस्या पनि समाधान गर्छौँ ।”

उहाँले एमाले सरकारले देशको भूमिसम्बन्धी सबै समस्या समाधान गर्ने बताउनुभयो । महासचिव पोख्रेलले भन्नुभयो–“देश र जनताको भाग्य र भविष्य निर्माणको अभियानमा एमाले लागेको छ । यस अभियानलाई सफल बनाउने अवसर मङ्सिर ४ हो ।  परमादेशी सरकारको बिदाइ र जनादेशको सरकारको स्वागत गर्न जनता आतुर रहेका छन् ।”

उहाँले दाङको भविष्य बनाउन प्राविधिक शिक्षा, सिँचाइका लागि कृत्रिम जलाशय, भाइरल रोडलगायत थुप्रै विकास गरेको बताउनुभयो ।

महासचिव पोखरेलले गुमेको प्रदेश राजधानी फर्काउने, दाङ–प्युठान सडक कालोपत्रे, दाङ–होलेरी–डोल्पा शहिदमार्ग, अमेलिया–तुल्सीपुर–सल्यान तथा दाङ–सुर्खेत र बबई–कोहलपुर सडक निर्माण गर्दाको कामको स्मरण गर्नुभयो । 

उहाँले राजनीतिक बजार बन्द हुने डरले केही दलहरूले गठबन्धन गरेको भन्दै स्वार्थहरूको झुन्ड धेरै नटिक्ने बताउनुभयो । सो अवसरमा जनगायक बद्री पङ्गेनीले देशको विकास र दाङको समृद्धिका लागि शङ्कर पोखरेललाई जिताउन गीतमार्फत अपिल गर्नुभयो । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ०६ बजे