दोलखामा काँग्रेस तथा समाजवादी छोडेर पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

दोलखा । दोलखाको जिरी नगरपालिकामा लामो समय कम्युनिष्ट राजनीति गर्नुभएका शैलेन्द्र कुमार खड्का एमाले पार्टीमै फर्किनुभएको छ ।

उहाँ २०५४ को स्थानीय निर्वाचनमा जिरी गाविसको अध्यक्ष समेत हुनुभएको थियो । 

नेकपा एमाले दोलखाले मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन लक्षित गरेर चुनावी अभियानलाई तीव्र बनाएको छ । यसै अभियानका क्रममा जिरीमा भएको चुनावी कार्यक्रममा खड्का एमाले प्रवेश गर्नुभएको हो । एमालेमा प्रवेश गर्दै उहाँले समाजवादी पार्टी कम्युनिष्ट नभएको जिकिर गर्नुभएको छ ।

एमालेले आयोजना गरेको चुनावी सभामा नेपाली काँग्रेस तथा समाजवादी छाडेर पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्वल खड्का परशुराम दाहाल तथा नेपाली काङ्ग्रेसबाट पुराना काँग्रेसका नेता इन्द्रबहादुर नेपालीसहित दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिनुभयो । 

जिरी नगरपालिकाको वडा नं.३ को हाँडिखोलामा आइतबार बिहान भएको कार्यक्रममा एमाले दोलखा प्रतिनिधिसभा सदस्य उम्मेदवार वालकृष्ण शिवाकोटी, प्रदेश क उम्मेदवार नरबहादुर श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार उर्मिला सुनुवार, एमाले लेखा आयोग सदस्य शान्ति पाख्रिन, प्रदेश निर्वाचन परिचालन कमिटी क का संयोजक इश्वरचन्द्र पोखरेल लगायतले आफ्नो भनाइ राख्दै समुन्नत जिरी निर्माणका लागि एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो । 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ४७ बजे