वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । 

गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गरी आगामी पाँच वर्षमा पर्यटकको सङ्ख्या  वार्षिक २५ लाख पुर्‍याइने योजना एमालेको घोषणा पत्रमा छ । पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिने समेत घोषणा पत्रमा उल्लेख छ ।

प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान गरी तिनको प्रवर्द्धन, विकास र संरक्षण गरिने जनाइएको छ । जैविक र पर्यावरणीय विविधतासहितको इकोटुरिज्मलाई प्रवर्द्धन गरिने लक्ष्य समेत राखिएको छ ।

‘पर्यटन र संस्कृति राष्ट्रको समुन्नति’ नारासहित एमालेले नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरी पर्यटकीय गन्तव्यको प्रचार गर्ने नेपाली कूटनीतिक नियोगलाई पर्यटन प्रवर्द्धनमा परिचालन गर्ने, पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गर्ने योजना एमालेको छ । 

एमालेले पर्यटन सेवाको विस्तार गर्ने, पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न उद्देश्यसहित पर्यटन शिक्षा सम्बन्धी विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । 

त्यस्तै, नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तार गर्नुका साथै सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने योजना एमालेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ३९ बजे