एमाले दोलखाको कार्यवाहक अध्यक्षमा मानन्धर

चरिकोट । नेकपा एमाले दोलखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र मानन्धरले पाउनुभएको छ । 

मानन्धर यसअघि एमाले दोलखाको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ दोलखा प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएपछि मानन्धरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

पार्टी गतिविधिलाई प्रभावकारी र सशक्त बनाउनका लागि उपाध्यक्ष मानन्धरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले दोलखाले जनाएको छ । 

नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख समेत रहनुभएका मानन्धर आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहनुभएको छ । 

आगामी मङ्सिर ४ मा हुने निर्वाचनको सन्दर्भमा दोलखा जिल्लाको पार्टी कामलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि मानन्धरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा दोलखा प्रदेश सभा ‘क’ का निर्वाचन विशेष कमाण्डर पार्वत गुरुङले जानकारी दिनुभयो । 

गुरुङले शुक्रवार दोलखा सदरमुकाम चरिकोटमा आयोजित चुनावी अभियान शुभारम्भ कार्यक्रममा नेकपा एमाले दोलखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी मानन्धरलाई दिइएको घोषणा समेत गर्नुभएको थियो ।

दुई दशकसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील मानन्धरले विगतमा अनेरास्ववियु दोलखाको अध्यक्ष लगायत नेकपा एमाले दोलखाको विभिन्न कमिटीमा हरेर जिम्मेवारी पुरा गर्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ दोलखाको अध्यक्ष, सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको सल्लाहकार जस्ता महत्त्वपूर्ण पदहरूमा रही प्रभावकारी कार्य सम्पादन गर्नु भएका मानन्धर दोलखाका सफल व्यवसायीका रूपमा पनि चिनिनु हुन्छ । मानन्धर हाल पत्रकारिताबाट विश्राम लिएर पूर्णकालीन राजनीतिमा होमिनुभएको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : १८ बजे