आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । 

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । 

हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ ।  एकादशीहरूमा सबैभन्दा ठुलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । अशाढ शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।  विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ ।  

हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट  ब्युँझिएको धार्मिक कथन छ  । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।

हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिने चलन छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ ।  तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । 

आजको दिन भगवान् विष्णुको भजन कीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : १३ बजे