‘नो रोड नो भोट’ भन्दै सर्लाहीका युवाले गरे नेता बहिस्कार

​​​​​​​सर्लाही । मङ्सिर ४ गते हुने चुनावलाई लिएर आजदेखि दलहरूले प्रचार प्रसार गर्न पाउने भए पनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवतजावतमा रोक लगाइएको छ । अहिले कौडेना गाउँपालिकाका युवाहरू संयुक्त रूपमा हुलाकी राजमार्गमा  टायर बालेर प्रदर्शन गरिरहेका छन्  । तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरबाही गरेको र जनताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै कौडेना वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरी कल्वारको नेतृत्वमा स्थानीय तथा युवाहरूको समुहले नेताहरूलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा रोक लगाएको हुन्  । 

नेताहरूलाई आवतजावतमा रोक लगाउने कार्यको नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिबद्धता गर्न र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवतजावतमै रोक लगाउने निर्णय गरेर आफूहरू सडक अवरुद्ध गर्न बाध्य भएको बताए । उनले समयमै बनाउन नसकिए पनि सडकमा नियमित पानी छिटेर धुलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरिकको स्वास्थ्यमा नकारात्मक असर परिरहेको बताए । उनले सडक नबन्दा तराईका हजारौँ बासिन्दाले यात्रामा कठिनाइ भोग्नु परी रहेको बताए । 

उनले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कारबाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरू सडक अवरुद्ध गर्न अघि बढेको बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिबद्धता भए मात्रै सडक खुलाउने बताए । हुलाकी राजमार्ग नबन्दा स्थानीयहरूले वर्षौँ देखि सास्ती भोग्नु परेको छ, नेताहरूले चिलो गाडी चढेर आउने गरेको हुँदा धुलोको समस्यालाई मतलब नगरेको स्थानीय मनोज पासवानले जानकारी दिनुभयो । 

सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनावी मैदानमा रहेका नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : २५ बजे