उम्मेदवारको मत माग्ने शैली : ‘काममा बाधा पुर्‍याएँ माफ गर्दिनुस् है’

बागलुङ । ‘हजुर नमस्कार, हजुरहरू काममै हुनुहुन्थ्यो, मैले डिस्टर्व गरेँ, माफ पाऊँ है’ धान उठाइरहेका किसानहरूको नजिकै पुगेर नेकपा एमालेका उम्मेदवार डा.सूर्य पाठकले भन्नुभयो, “चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरू व्यस्त भएर घरमा भेट्न पाइएन ।”

बुधवार आसन्न निर्वाचनका लागि प्रचारमा रहेका उम्मेदवार डा.पाठक जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा घरदैलो गर्दै हुनुहुन्थ्यो । मत माग्दै हिँड्नुभएका बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’का उम्मेदवार नवराज पौडेलसहितको नेताहरूको समूहले खेतबारीमै पुगेर मतदाता भेटेको थियो ।

मतदातालाई भेट्दै डा.पाठकले बितेका पाँच वर्षमा आफूले गरेका कामलाई हेरेर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले पहिलो कार्यकाल अनुभव बटुल्ने समय भएको भन्दै जनताका सम्बोधन नभएका बाँकी मुद्दा आगामी कार्यकालमा सम्बोधन गर्ने बताउनुभयो । “मैले नगरेको होइन, तीन वर्ष हाम्रो सरकार थियो काम भएकै थिए, त्यसपछि सरकार ढल्यो काम रोकिए”, उहाँले भन्नुभयो, “हिजो मैले प्रयास गरेका कयौँ काम अधुरा छन्, पूरा गर्नुपर्ने छ ।”

प्रदेशसभाका उम्मेदवार नवराज पौडेलले दक्षिण बागलुङको मुहार फेर्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो । निश्चित घेराभित्र रहेको राजनीतिलाई तोड्न र जनताको सेवा गर्ने प्रतिनिधि प्रदेश सभामा पुर्‍याउन एमालेलाई जिताउनुपर्ने पौडेलले बताउनुभयो ।

त्यस्तै, क्षेत्र नं. १ प्रदेशसभा ‘क’ का उम्मेदवार हिराबहादुर केसीले बागलुङ नगरपालिकाका विभिन्न वडामा पुगेर भेटघाट गर्नुभएको छ । उहाँले यस पटक युवा उम्मेदवार छानी छानी जनताले जिताउनुपर्ने बताउनुभयो । ऊर्जा र अनुभव भएका युवा नेताहरू चुनावी मैदानमा रहेकाले मतदान गर्न मतदातालाई सहज रहेको उहाँले दाबी गर्नुभयो । 

क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार मञ्जु शर्मा चालिसे र प्रदेशसभा ‘क’का स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले बडिगाड गाउँपालिकाका विभिन्न वडामा घरदैलो गर्नुभएको छ । घरदैलोका क्रममा चालिसेले आफूले सधैँ यस क्षेत्रका जनताको सेवा गरिरहेको भन्दै संसद्मा पश्चिम बागलुङको आवाज पुर्‍याउन आएको बताउनुभयो । 

प्रदेशसभा उम्मेदवार घर्तीले कुरा गर्नेभन्दा काम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताउनुभयो । एमालेका समानुपातिक उम्मेदवार बाबुराम नेपालीले सत्ता गठबन्धन स्वार्थ बोकेर जनताको माझमा आएकाले राष्ट्रियताको रक्षाको अभिभारा बोकेर आएको पार्टीलाई जनता मत दिएर जिताउने बताउनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : २७ बजे