यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन : अध्यक्ष ओली 

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको भन्नुहुँदै सरकारले देशको ढुकढुकी लुटेको बताउनुभएको छ ।

झापामा आज आयोजित एमालेको मतदातासँग भेटघाट कार्यक्रममा उहाँले अहिलेको सरकारदेखि विश्व लज्जित भएको भन्दै गठबन्धनलाई कुनै लाज नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “संसद्ले नभएर सेटिङमा भनेको सरकार, असंवैधानिक सरकार, परमादेशबाट बनेको नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकार बनेको छ । केही व्यक्ति बोलाएर अर्थमन्त्रीले करका दर हेरफेर गर्छ । योभन्दा ठुलो देशको ढुकुटी लुट अरू के हुन्छ । यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।”

उहाँले एमालेको विकास, भिजन देखाउन बहुमत नआएपछि माओवादीसँग मिलेर सरकार बनाउनुपरेको बताउनुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वार्थी रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “प्रचण्ड अस्थिर, स्वार्थी, आफ्नो परिवारको स्वार्थ, नातागोताको स्वार्थ बाहेक केही नदेख्ने, जनताको ज्यानको मूल्य नभएको, अरूका गाडी खोसेर चढ्ने, अरूका घोडा खोसेर चढ्ने मान्छेसँग मिलेर सरकार बनायौँ ।” 

अध्यक्ष ओलीले एमालेसँग मिलेर चुनाव लडेका प्रचण्ड काङ्ग्रेससँग मिलेर सरकार बनाउन खोज्दा रोकेर आफ्नो सरकार बनाएको बताउनुभयो ।   

अध्यक्ष ओलीले प्रचण्डले गर्दा आफ्नो नेतृत्वको सरकारले नागरिकता विधेयक अगाडि बढाउन नसकेको पनि बताउनुभयो । उहाँले प्रचण्डले नागरिकता विधेयक अगाडि बढाउन नदिएको भन्नुहुँदै प्रचण्डहरूले आफूलाई जानी जानी काम गर्न नदिएको आरोप लगाउनुभयो । 

“हामीले प्रचण्डसँग मिलेर सरकार बनायौँ । पार्टी एकता पनि गरौँ । तर प्रचण्डले देखावटी पार्टी एकता गरेर भित्रभित्रै सकेँ । नागरिकता विधेयक अगाडि बढाउन दिएनन् । उनीहरूले जानी जानी मलाई काम गर्न दिएनन् ।”, उहाँले भन्नुभयो । 

 

 

 

 

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ५० बजे