हामीले सुन्दै आएका छौँ, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्र भनेको राजनीतिक व्यवस्था हो । हाम्रो देशको व्यवस्थाको स्वरूप बहुदलीय रहेको छ । स्पष्ट छ, यसमा राजनीतिक दलको भूमिका महत्त्वपूर्ण र निर्णायक हुन्छ । राजनीति दर्शनमा आधारित हुन्छ । यद्यपि, राजनीति भनेको चुनावदेखि चुनावसम्म या चुनावमा उठ्न, प्रतिस्पर्धा गर्न र जितेपछि शासन गर्न मात्र हो जस्तो देखिँदै छ र यस्तो व्यवहारबाट मानिसहरूमा राजनीतिप्रति नै बेवास्ता हुर्किरहेको हो कि भनेजस्तो पनि देखिँदै छ ।
जानेर वा नजानेर; निर्देशित वा स्वतन्त्र; विद्रोह वा सबलीकरण के हो, यसै भन्न नसकिए पनि केही मानिसहरू मूलधार भनिएको राजनीतिक शक्तिहरूबाट अलग रहेर राजनीतिमा अघि सरेका छन् । स्वतन्त्र उम्मेदवारहरूको सङ्ख्या पनि विगतको तुलनामा बाक्लिएको छ । गत स्थानीय निर्वाचनको केही ठाउँको प्रभाव पनि परेको देखिन्छ ।
निर्वाचनका क्रममा देखिएका यस्ता दृश्यहरूबारे केही सकारात्मक र केही नकारात्मक टिप्पणीहरू पनि हुने गरेका छन् । यस्ता दृश्यहरूलाई कतिपय विश्लेषकहरूले राजनीतिप्रतिको वितृष्णा पनि भन्ने गरेका छन् । तर, वास्तविकताले त्यस्तो सङ्केत गर्दैन, बरु राजनीतिप्रति, निर्वाचनप्रति मानिसहरूको आकर्षण बढेको छ, राजनीतिमा प्रत्यक्ष सहभागी हुने क्रम बढेको नै पुष्टि हुन्छ ।
मानिसहरू आफ्नो जीविकाको गतिलो पेसा छोडेर चुनावी प्रतिस्पर्धाको राजनीतिमा आइरहेका छन् । स्थापित राजनीतिक दलहरूमा अटाउन नसकेका या पार्टीहरूले समेट्न नसकेका युवाहरू विभिन्न अभियानका नाममा र स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन् । यो प्रवृत्तिलाई हतोत्साही, वितृष्णा भन्ने कि आकर्षण र सहभागिता बढेको मान्ने ? यो सवाल विचारणीय छ ।
नेपालमा पुरानो पुस्तालाई ‘नो, नट अगेन’ नेतृत्वमा ‘पुस्तान्तरण, हस्तान्तरण’ आदि भनिरहेकाहरू मलेसिया र सिङ्गापुरका सकारात्मक उदाहरण पस्कन बिर्सँदैनन् । कतिपय देशमा आएका नयाँ पुस्ता—युवा उमेरका नेतृत्वलाई उदाहरण बनाए पनि अमेरिका र भारतको नेतृत्वका विषयमा चर्चा गर्दैनन् । यी विषय मूलधारका राजनीतिक नेतृत्वका लागि विचारणीय छ ।
राजनीति आफैमा जिम्मेवार विषय हो । यसले परिपक्वताको माग गर्दछ । त्यस्तो परिपक्वता उमेरजन्य परिपक्वता मात्र होइन; दूर दृष्टि, सुझबुझ, अनुभव, सीप, क्षमता, प्रतिबद्धता आदिमा परिपक्वता हो । यस्ता विषयलाई उमेरमा सीमित पारिनु हुँदैन अर्थात् यसका लागि मानिसको उमेर दाँज्नु या जाँच्नु उपयुक्त हुँदैन । उमेर पाको भएर पनि उल्लेख गरिएका गुणहरू नहुन सक्ने र कमै उमेरमा पनि यस्ता गुणहरू विकसित भएको हुन सक्ने हुन्छ । तर, प्रकृतिको आम नियम हो, पहिले आएका पहिले जान्छन् । त्यसैले, राजनीतिक नेतृत्वमा नयाँ र पुराना दुवै पुस्ताको सन्तुलित सहभागिता आवश्यक हुन्छ । नेता र नेतृत्वका उमेरका विषयलाई मात्र उल्लेख गरेर—उछालेर नयाँ पुस्ताको राजनीति सफल हुन सक्दैन ।
राजनीतिमा अहिले बढ्दै गरेको आकर्षणलाई हेर्दा स्पष्ट देखिने तथ्य हो कि जसरी पनि आफू राजनीतिको शक्तिकेन्द्र बन्ने । स्वतन्त्र हुन् वा अभियन्ता, उनीहरूका व्यवहारले राजनीतिमा कुनै स्तरको तरङ्ग सिर्जना गरेको छ, तर उनीहरूका एजेन्डामा यसरी देश बनाउने भन्ने ठोस दृष्टिकोण देखिँदैन । मलेसियाका महाथिर र सिङ्गापुरका ली कुआन यूको नाम लिए पनि आफ्नै देश नेपालमा आफूmले के र कसरी गर्ने भन्नेबारे कुनै स्पष्ट दृष्टिकोण, विचार र योजना देखिँदैन । यसबाट के स्पष्ट हुन्छ भने हाम्रो राजनीतिक नेतृत्वप्रतिको विकर्षण र उत्तेजनात्मक महत्त्वाकाङ्क्षा बढेको छ । यो प्रवृत्ति एउटा पाठ भने हो ।
चुनाव आफैमा नेतृत्व निखार्ने र तिखार्ने अवसर हो । दल र दलका सञ्जालका माध्यमबाट राजनीतिक दलहरूले आफ्ना नेता—कार्यकर्ताको माध्यमबाट जनता र समाजका आवश्यकताबारे थाहा पाइरहने भए पनि जनप्रतिनिधि बन्नका लागि प्रस्तावित उम्मेदवारहरू जनताको घरदैलोमै पुगेर मनसाय बुझ्ने र मत माग्ने काम हुन्छ । यस क्रममा हुने अन्तर्क्रियालाई ध्यान दिने र गर्न पर्ने, गर्न सकिने विषयमा प्रतिबद्धता व्यक्त गरी दलका उम्मेदवारहरूले लोकतन्त्र, राजनीति र राजनीतिक नेतृत्वप्रति जनताको मन सोझ्याउन आवश्यक छ ।
लोकतान्त्रिक व्यवस्था दलीय राजनीतिक प्रतिस्पर्धाको प्रणाली हो । केही स्वतन्त्र उम्मेदवारहरू उठे—उठाइएका भए पनि उनीहरू समेत दलीय—संस्थागत आकारमा आइरहेका छन् । उपयुक्त सुझबुझ र विश्वसनीयता विकास गरी राजनीतिक व्यवस्था र प्रणालीप्रति अनास्था निवारण गरी भ्रमहरू चिर्दै, वास्तविकता बोध गराउँदै आस्था निष्ठा बढाउनु दल, दलका नेता—कार्यकर्ता र उम्मेदवारहरूको दायित्व हो ।
प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ९ : ३७ बजे
प्रतिक्रिया