डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कुन प्रदेशमा कति वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदै छ ?

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । 

निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिन्ह त्यसै अनुसार तय भएको हो ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह लिएका छन् । 

त्यस्तै नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रूपमा एउटै चुनाव चिन्ह लिएका छन् । 

त्यस्तै, सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिन्ह लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट रहेको छ ।

प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिन्हको सङ्ख्या फरक फरक पर्नेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिक तर्फको अन्तिम बन्द सूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकोले यी दुई प्रदेशमा बन्द सूची बुझाउने दलको मात्र निर्वाचन चिन्ह रहने भएको छ । 

तर प्रदेश नं.१, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको समानुपातिक तर्फको मतपत्र बन्द सूची पेस गर्नुअघि नै छपाइ भइसकेको कारण निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिन्ह समेत रहने भएको छ । जस अनुसार प्रदेश नं. १ मा ५५ वटा निर्वाचन चिन्ह भएको मतपत्र हुने आयोगले जनाएको छ ।

त्यस्तै मधेस प्रदेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । प्रदेश नं. १ मा बन्द सूचि बुझाउने दल भने ३६ मात्र रहेका छन् । 

त्यस्तै, मधेस प्रदेशमा ३६, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ३१ र लुम्बिनी प्रदेशमा ३२ वटा दलले मात्र बन्द सूची पेस गरेका छन् । कर्णाली प्रदेशमा निर्वाचनमा सहभागिताका लागि निवेदन दिने दलको सङ्ख्या ४९ थियो । त्यस्तै सुदूरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।

प्रदेशसभामा प्रदेश नं. १ बाट ३७ जना, मधेस प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४० बजे