भारतीय बजारमा नेपाली नागरिकहरू दिनहुँ ठगिन र लुटिन बाध्य

वीरगन्ज – चाडबाड नजिकिएसँगै वीरगन्जको सीमा जोडिएको भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भिड लाग्ने गर्दछ ।रक्सौलको अधिकांश व्यापार तथा पसलहरूको मुख्य ग्राहक नेपाली ग्राहकहरू नै हुने गर्दछन् । एक हिसाबले भन्नु पर्दा नेपालीहरूले नै यहाँको व्यापार धानेका छन्।

भारतीय बजारमा अहिले नेपाली नागरिकहरू दिन प्रति दिन ठगिन र लुटिन बाध्य छन् । रक्सौलका भारतीय व्यापारीहरूले त्यहाँको  बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर नेपाली ग्राहकहरूलाई लुटिरहेका छन् ।

भारतीय बजारमा सरसामान खरिद गर्न पुगेका नेपाली नागरिकसँग भारतीय व्यापारीले एक सय भारुको सट्टा १७५ नेपाली रुपैयाँसम्म लिने गरेको वीरगन्जका स्थानीय अजय यादवले बताए ।

भारतीय बजार रक्सौलमा आवश्यक किनमेल वा कामका लागि पुग्ने नेपालीहरूले एक हजार नेपाली दिएमा भारु ६ सय मात्रै दिने गरेको वीरगन्जका अर्का स्थानीय मुन्ना गुप्ताले  गुनासाे गरे  । केही वर्षदेखि भारतीय व्यापारीहरूलाई रु एक सय नेपाली दिँदा ६० भारु मात्रै दिने गरेका छन्, नेपाली रुपै‌यालाई भारतीय व्यापारीहरुले आफुखुसी घटाउने गरिरहेका छन्’ , उनले भने ।  यस अघि नेपाली रुपै‌याँ एक सय दिँदा भारु ६२ रुपैयाँ ५० पैसा दिने गरेकाे उनले बताए  ।

भारतीय बजारमा वीरगन्ज, परवानीपुर, जीतपुर, सिमरा र हेटौडासम्मका ग्राहकहरू भारतको रक्सौल बजारमा गएर सरसामान खरिद गर्ने गर्दछन् ।सामान किन्न पुगेका नेपालीहरुसँग भारतीय व्यापारीहरूले एक सय भारुका लागि नेरु १ सय ६६ देखि १ सय ७५ सम्म पनि असुली गर्ने गरेका छन् ।

भारतीय ग्राहकहरू नेपाल आउँदा वीरगन्जका व्यापारीहरूले भने भारु एक सय बराबर नेरु एक सय ६० नै दिने गरेका छन् । नाम नछाप्नन आग्रह गर्दै वीरगन्जको घण्टाघरमा भेटिएका  एक व्यापारीले भने – ' यदि यसै गरी भारतीय व्यापारीहरूले नेपाली पैसाको अवमूल्यन गर्ने र ठग्ने काम गर्दै जाने हो भने हामीले पनि उनीहरूकै जस्तै एक सय भारुको नेरु एक सय ३० दिन बाध्य हुन्छौ। ' 

वीरगन्जको सीमासँग जोडिएका भारतीय बजारमा विभिन्न सामान र उपभोग्य बस्तु किन्न दैनिक सात हजारभन्दा बढी नेपाली ग्राहकहरू पुग्ने गरेका छन् । भारतीय व्यवसायीहरू पनि  रक्सौलको व्यापार नेपाली ग्राहकहरूकै कारण चलेको बताउँछन्। यहाँका स्थानीयहरूले भुजिया, पापड, बिस्कुट, भाडा कुँडा, लुगाफाटो, कपडा, खाद्यान्न, इलेक्ट्रिक सामान आदि नकिन्ने हुँदा नेपाली ग्राहकहरू नै आफ्नो मुख्य ग्राहक रहेको र नेपालीहरूकै भरमा आफ्नो व्यापार चलेको उनीहरु बताउँछन् । नेपाली ग्राहकहरूले नै दैनिक ४ करोड भन्दा बढीको सरसामान खरिद गरेर लग्ने गरेको रक्सौलका व्यापारीहरू  स्विकार्छन् ।

नेपालले भारतसँग आफ्नो मुद्राको विनिमय दर स्थिर राखेको छ। जसरी अमेरिकी डलर वा अन्य विदेशी मुद्राको दाँजोमा नेपाली रुपैयाँ दिनकै घटबढ भइरहन्छ, नेरु र भारुबीच त्यस्तो हुँदैन। २०१७ साल वैशाख १ गते भारु १०० को नेरु.१६० निर्धारण गरिएको विनिमय दर घुमीफिरी २०७९ सम्ममा सोही दर कायम छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ५३ बजे