‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जबज बुझ्ने मात्र विषय होइन, कामका लागि मार्गदर्शक हो 

नेपालको राजनीतिमा जनताको बहुदलीय जनवादबारे सबैलाई थाहा छ । यसलाई हामीले छोटकरीमा ‘जबज’ पनि भन्ने गरेका छौँ । जबज बुझ्ने मात्र विषय होइन, यो त हाम्रा कामको मार्गदर्शन गर्ने दार्शनिक विचार हो । हामीले जबजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मानेका छौँ, स्वीकार गरेका छौँ । 

जनताको बहुदलीय जनवाद बोकेको पार्टी नमुनायोग्य पार्टी भएन भने, त्यहाँ नमुनाजन्य नेता भएनन् भने, त्यस विचारलाई बोकेका बुद्धिजीवी नमुना बुद्धिजीवी हुँदैनन् भने, त्यसलाई बोकेका र धारण गरेका विद्यालय त्यसअनुसारका नमुना हुँदैनन् भने, दुई चार जनाका लागि जागिर खानका लागि मात्र हामीले के विद्यालय चलाउनु? दुईचार जनालाई जागिरको पूर्ति मात्रै हाम्रो काम होइन । हामीले हाम्रा कामबाट आफ्ना पदचिह्नहरू छोड्नुपर्दछ । हाम्रा कामहरू अनुकरणीय हुनुपर्दछ । हाम्रा कामबाट अरूले शिक्षा लिउन्, सिकुन् । 

हामीले जुन काम गर्छौ, त्यो नमुना हुनुपर्दछ । हाम्रा स्कुलमा, हाम्रा क्याम्पसमा पढेका विद्यार्थीहरू अब्बल हुनुपर्दछ । त्यस कारण अनुहार हेरेर होइन, गुणवत्ता हेरेर शिक्षक राख्नुस् । ४० प्रतिशत अङ्कले मात्रै पास गरेका शिक्षकहरू नबस्नुस् । ९० प्रतिशत ल्याएका बस्नुस् । ४० प्रतिशत ल्याएको शिक्षकले बाँकी ६० आफैँलाई थाहा छैन भने उसले के पढाउँछ ? शिक्षक भनेको ज्ञान सम्प्रेषण गर्ने माध्यम हो । विद्यार्थीसँग गर्ने व्यवहारको कला ऊसँग हुनुपर्छ । 

ज्ञान प्रक्षेपण गर्दा प्रक्षेपणकर्ता विद्यार्थीसँग कति घुलित हुनसक्छ, ज्ञान ग्रहणकर्ताले कति ज्ञान ग्रहण गर्ने गरी प्रक्षेपण गर्छ ? हामीले ज्ञानपुञ्ज दिनुपर्छ, भित्र ज्ञान घुसाइदिनु पर्छ । यसले ज्ञानको सम्प्रेषण पुस्ता दरपुस्तासम्म पुर्‍याउँछ । ज्ञान सम्प्रेषण बाटो भेटाइदिने, सूत्र भेटाइदिने खालको हुनुपर्‍यो । सूत्रबाट नयाँ प्रतिपादनहरू गर्दै जानुपर्‍यो । त्यतिमै मात्रै अल्झिनु भएन । नयाँ नयाँ प्रतिपादन गर्दै जानुपर्‍यो । हामीले उनीहरूभित्र ज्ञान सम्प्रेषण गर्नुपर्छ । शिष्यहरू शिष्य बने कि बनेनन्, गुरुले सम्प्रेषण गर्न सक्यो कि सकेन ? गुरुले ज्ञान कति बुझायो? त्यस ज्ञानलाई आधार बनाएर बिजाङ्कुर भयो भएन? हामीले प्रतिफलमा हेर्नुपर्छ । सानो एउटा बीऊबाट रुख उमार्ने यसैगरी हो । त्यो बीऊबाट रुख उम्रियो कि उम्रिएन? तपाईँले बीऊ राख्दिनु भयो, बीऊ दिनुभयो । बीऊ जतनले राख्यो, केही पनि उम्रिएन भने ज्ञान प्राप्त भएन । उम्रिने गरी, झाँगिने गरी, फल्ने गरी, पुनः उत्पादन गर्ने गरी ज्ञानको सम्प्रेषण गर्नुपर्छ । हाम्रा शैक्षिक संस्थाहरू तदनुसारका हुनुपर्छ । हाम्रा शिक्षकहरू विद्यार्थीमा ज्ञान प्रवेश गराउन सक्ने, घुसाउन सक्ने, नयाँ मेथोडोलोजीका साथ शिक्षा प्रदान गर्न सक्ने हुनुपर्छ ।

दार्शनिक परम्परामा जनताको बहुदलीय जनवाद के हो त? यो मार्क्सवादी लेनिनवादी दर्शनमा आधारित छ । खास गरी मार्क्सवादी दर्शनमा आधारित छ । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद यस ज्ञानको दार्शनिक आधार हो । यस सन्दर्भमा आउँदा हामी अगाडि देखिका पूर्वीय र पाश्चात्य दार्शनिकलाई पनि सम्झन्छौँ । शुकरातका कुरा गरौँ, उनले सत्यका लागि ज्यान दिए । सत्यप्रति उनको यस्तो निष्ठा, जसका लागि उनी आफ्नो ज्यान दिन तयार भए । उनका शिष्य प्लेटोले शासकहरूसँग साँठगाँठ मिलाएर भाग्ने प्रबन्ध गरे । प्लेटोले शुकरातलाई घोडा चढेर भाग्न र ज्यान जोगाउन बाहिर घोडा राखिदिए र भने, ‘गार्डहरू निदाए जस्तो गर्छन्, गुरु घोडा चढेर भाग्नुपर्छ । नत्र भने भोलि बिहानै विषको प्याला पिउनुपर्छ ।’ शुकरातले भने, ‘म सत्य भन्ने मात्रै होइन, सत्य अपनाउने मान्छे हुँ । त्यस कारण सत्य छोडेर म भाग्दिनँ । सत्यको परिणामसँग तर्सिन्नँ । यसर्थ म मृत्युवरण गर्न तयार छु, भाग्न तयार छैन । म भाग्दा मान्छेले शुकरात सत्य सत्य भन्थ्यो, परिआउँदा भाग्दो रहेछ भन्नेछन् । सत्य भनेको भन्ने कुरा हो, अपनाउने कुरा होइन भन्ने सन्देश जान्छ, म त्यो गर्दिनँ । सत्य अपनाउने कुरा हो, त्यस कारण म ज्यान दिन्छु ।’

सत्यप्रति शुकरातको त्यो निष्ठा, अथवा बुद्धको शान्ति प्रतिको निष्ठा अथवा कपिल मुनिको साङ्ख्य दर्शनको निष्ठा अथवा चारवाकको लोकायत दर्शनप्रतिको र अष्टावक्रको विदेह दर्शन सम्बन्धी निष्ठा पूर्वीय दर्शनमा देखिन्छ । यसलाई अध्यात्मवादमा आधारित छ भन्ने बडो गलत हल्ला चल्यो । पण्डितजीहरूले चलाए । मनुस्मृतिमा चार सय श्लोकहरू पछि कर्मकाण्डी पण्डितजीहरूले अर्कै कुरा घुसाए । सक्कली मनुस्मृतिमा त्यो छैन । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ छ । मनुस्मृतिमा पछि चार सय श्लोक थप राखिएको छ । जसभित्र वर्णाश्रम व्यवस्थाका कुरा गलत ढङ्गले प्रक्षेपण गरियो । 

महिलालाई अपमान गर्ने, हेप्ने हाम्रो परम्परामा थिएन । पछि कर्मकाण्डी पण्डितहरू थपिँदै गए र हाम्रो सनातनमा जुन राम्रा कुराहरू थिए, त्यसलाई विकृत कुराहरूले ढाके । सनातनका कतिपय राम्रा भौतिकवादी र यथार्थवादी पक्षहरूलाई ढाकछोप गरे । हाम्रा पूर्वजहरूले अध्यात्ममा विश्वास गर्थे भने त औषधि विज्ञान आविष्कार नै गर्दैनथे । बिरामी हुन्छ भगवानको इच्छा । निको हुन्छ, भगवानको इच्छा । तपाईँ भ¥याङबाट झर्दा असावधानी अपनाउनु हुन्छ, असावधानी गरेर लड्नु हुन्छ, तपाईंकोे खुट्टा भाँचिन्छ, अनि भगवानलाई अपजस लगाउनु हुन्छ । भगवान तपाईंकोे खुट्टा भाँच्ने सौख पालेर बसेका छन् ? भगवान कसको खुट्टा भाँचौँ भनेर बसेका छन्? कि बलियो भयो भने खुट्टा भाँच्छन् ? भगवानको काम हो खुट्टो भाँच्ने ? त्यस कारण भगवानले भाँचेको होइन, राम्ररी आँखा हेरेर भर्‍याङ झर्नुस्, नत्रभने लडिन्छ, खुट्टा भाँचिन्छ । 

त्यस कारण भगवानलाई अपजस लगाउने होइन । बाटोमा हिँड्दा होस गरेर, आँखा हेरेर हिँड्नुस् । बाटो काट्दा होस् गरेर नकाट्ने, अनि गाडीले हान्यो भने भगवानको इच्छा आजै मर्न लेखेको रहेछ भन्ने । गाडी आएको देखेपछि एक छिन् पर्खिएर बाटो क्रस गरेको भए त मर्न लेखेको रहेनछ भन्ने हुन्थ्यो होला नि । देखि देखिकन असावधानीवश जाने, अनि भगवानलाई अपजस? यसो हुनु हुँदैन ।

हामी पूर्वीय दर्शन भनेपछि अध्यात्म भन्ने गर्छौँ । पूर्वीय दर्शनको निष्ठा हामीले योगको विकासमा हेर्‍यौ भने थाहा पाउँछौँ । सांख्यमुनि हुन् वा सांख्य दर्शनका प्रणेता कपिलमुनि हुन् । पतञ्जलीसम्म वा अष्टाङ्ग योगसम्म आउँदा हामी यसलाई बुझ्न सक्छौँ । अष्टाङ्ग योगमा पहिलो अङ्ग यम हो । त्यसमा पनि पाँच वटा भाग छन् । पाँच वटा भागमध्ये पहिलो भाग नै सत्य हो । सत्य बोल, सत्य अपनाउ, सत्य अङ्गीकार गर, असत्यमा नजाउ, असत्य अस्वीकार गर, असत्यसँग नझुक, असत्यसँग लड भनिएको छ ।

हामीले जनताको बहुदलीय जनवादको सूत्र निकाल्यौँ भने पनि त्यो देख्न सकिन्छ । यसको सूत्र सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने हो । यो जनताको बहुदलीय जनवाद हो । यो योगको प्रथम अङ्गको प्रथम सूत्र हो । त्यही कुरा सुकरातले भने, त्यही कुरा अष्टावक्रले भने, त्यही कुरा चारवाकले भने, त्यही कुरा अरू दार्शनिकहरूले भने । त्यही कुरा गार्गीले भनिन् । योग साधनाको प्रथम प्रार्थनामा लोकाः समस्ताः सुखिनो भवन्तु, अर्थात् सबै मानिसहरू सुखी होउन् भनिएको छ । त्यस कारण यो दर्शनसँग पनि सम्बन्धित छ । हामीले समृद्ध नेपाल सुखी नेपाली भन्यौँ । हाम्रा प्राचीन शास्त्रहरूले ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरमयाः’ भने । सबै सुखी हुने, सबै निर्भयपूर्वक बाँच्ने यही हो समाजवाद ।  यसलाई कसरी भन्ने कुरा उनीहरूले तोकेका थिएनन् । तर गन्तव्य तोकेका थिए । त्यसलाई कसरी भन्ने कुरा जनताको बहुदलीय जनवादले भन्यो । त्यसको विस्तारित व्याख्या गर्दै, हामीले भन्यौँ, नेकपा एमालेले भन्यो । कसरी सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः हुन्छ भन्ने कुरा एमालेले भन्यो । त्यस कारण सबै स्कुल अफ थट्स्लाई हामी एकदम सहज ढङ्गले भन्न सक्छौँ, हामी यस सम्बन्धमा दार्शनिक र वैचारिक बहसहरू गर्न सक्छौँ । इतिहासका सन्दर्भका बहसहरू गर्न सक्छौँ ।

अब हामी होसियार हुनुपर्ने कुरा के छ भने सत्य हुँदैमा सधैँ जित्छ भन्ने होइन । सत्यका निम्ति हुने लडाइँमा सावधानीपूर्वक लड्नुपर्छ । स्पार्काटस विद्रोहका विषयमा चर्चा हुन्छ । मैले अस्ति एउटा कार्यक्रममा ‘स्पार्टाकस विद्रोह’को कुरा गरेको थिएँ । स्पार्टाकस विद्रोह सही थियो, सत्य थियो । स्पार्टाकसको विद्रोह सही भएकै कारणले अक्टुवर क्रान्तिको रूपमा प्रकट भयो । स्पार्टाकसको विद्रोह चिनियाँ क्रान्तिको रूपमा प्रकट भयो । स्पार्टाकस विद्रोह फ्रेन्च क्रान्तिको रूपमा प्रकट भयो । स्पार्टाकस विद्रोह अमेरिकी स्वतन्त्रता सङ्ग्रामको रूपमा प्रकट भयो । स्पार्टाकस विद्रोह नै थियो, जो फ्रान्सका तान बुन्ने लियोका मजदुरहरूको विद्रोहका रूपमा प्रकट भयो । त्यस बेलाका मागहरूको परिमार्जित रूप नै डेमोक्रेसी हो ।  मानवअधिकार घोषणा पत्र, सामाजिक न्याय र समानता त्यही परिकल्पनाको प्रतिफल हो । स्पार्टाकसले भनेकै कुराहरूलाई कार्ल मार्क्सले विकास गरेर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद बनाए । त्यही सिद्धान्तलाई मदन भण्डारीको अगुवाइमा यहाँ जनताको बहुदलीय जनवाद बनाइयो । त्यस कारण यो सिद्धान्त आकाशबाट टप्लक्क टप्किएको होइन । यो हाम्रो लामो इतिहासबाट पैदा भएको हो । पछिल्लो सामाजिक परिवर्तन र रूपान्तरणको विज्ञानको रूपमा हामीले यसलाई अपनाएका छौँ । 

हाम्रा बुद्धिजीवी साथीहरूलाई म आग्रह गर्छु, आमा–बाबुले खर्च गरेर पढाउनु भएको छ । अरूले जनताको बहुदलीय जनवादका बारेमा अन्टसन्ट लेख्छन् । अरूले जे पायो त्यही लेखेर कागज खेर फालेका छन् । गलत र हानिकारक कुराले युट््युव भरेका छन् । हामीले यसलाई हेरेर बस्ने होइन, विचारको एउटा बाढी ल्याउनु प¥यो । एमाले वैचारिक हिसाबले आक्रामक छ, तर अझै पुगेको छैन । आक्रामक भनेको हतियार चलाउने होइन, वैचारिक आक्रामकता हो । असत्यका विरुद्धको हमला हो । तसर्थ हामीले असत्यका विरुद्ध नझुकिकन वैचारिक रूपमा तीव्र आक्रमण गर्नुपर्‍यो । 

हामीले वैचारिक आक्रामकतामा ध्यान दिँदै अरूलाई पनि परिचालन गर्नुपर्छ । म बुद्धिजीवी साथीहरूलाई भन्न चाहन्छु– बुद्धिजीवी शब्दको प्रयोग र उपादेयता त्यति सान्दर्भिक लाग्दैन । बुद्धिजीवी भन्ने शब्दको अर्थ हुन्छ, बुद्धि प्रयोग गरेर जीविका चलाउने । यो शब्द त्यति राम्रो भएन । बौद्धिक भने राम्रो हुन्थ्यो । बुद्धि खेलाएर बाँचेका, बुद्धिमा बाँचेका भनेपछि त्यसले सकारात्मक अर्थ दिँदैन । अरू पाखुरामा बाँचेकाहरू होलान् वा कोही अलिकति कमजोर खालका व्यक्तिहरू होलान् । म चाहिँ पाखुरामा बाँचेका र बुद्धिजीवीहरूको बौद्धिक पीडा व्यावहारिक हिसाबले उस्तै उस्तै देख्छु । बुद्धिजीवीहरूले यसमा आफूलाई फरक देखाउनु पर्‍यो । बौद्धिक व्यक्तिहरूले आफ्नो बौद्धिकता समस्या पर्गेल्ने र तिनको वैज्ञानिक समाधान पहिल्याउने कुरामा प्रयोग गर्नुपर्‍यो ।

यस अवसरमा म मदन भण्डारी लगायतका अग्रजहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु । उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । उहाँहरूबाट हामीले रचनात्मक ढङ्गले सिक्ने, उहाँहरूका विचारलाई रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने, उहाँहरूका योजनाहरू ओझेलमा पर्न नदिने काम गर्नुपर्छ । फेरि ओझेलमा नपरुन् भनेर उहाँहरूले जति काम गर्नु भएको थियो, त्यतिमै हामी सीमित भयौँ भने मदन भण्डारीजस्तो बहुआयामिक र गतिशील नेताले सम्प्रेषण गरेको कुरा बहन गर्न सकिँदैन । मदन भण्डारीले एक ठाउँमा उभिएर जनताको बहुदलीय जनवाद बोकेर बस्न भन्नुभएको होइन । रिले रेसमा जस्तै ट्याक्क रुमाल समाउ कुदिहाल्नुपर्छ, मदन भण्डारीले भनेको जनताको बहुदलीय जनवाद त्यही हो । ट्याक्क रुमाल समाउने कुदिहाल्ने जस्तो, जबज समाउने कुदिहाल्ने । काममा कुद्ने, विचारको प्रचारमा कुद्ने । विभिन्न साम्प्रदायिक र धार्मिक प्रचारका लागि भक्तहरू, अनुयायीहरू कुदेका देखिन्छन् । इहलोक बनाउनु छैन, परलोक बनाउन मान्छे बेकारको दौडमा छ । इहलोक बन्यो भने परलोक बन्ला । त्यस कारण इहलोक सपार्ने काममा सक्रियतापूर्वक लागौँ । 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ११ बजे