छठ पर्वको दोस्रो दिन आज खरना गरी मनाइँदै

काठमाडौँ । छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ । 

शुक्रवारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । 

शुक्रवार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले  कार्तिक शुक्ल पञ्चमीका दिन आज दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरूप खानेछन् । 

यस वर्ष तिथिको घटबढले शुक्रवार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रवार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रवार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे । 

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

छठको व्रत बस्दा चोखो निधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रूपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । 

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ४६ बजे