छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

धनुषा । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो ।

धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्र बजार, सबैला, सहिद नगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँ जसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका विष्णुलाल पण्डितले बताउनुभयो ।

पण्डितले पहिले पहिले त हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो । 

नेपाली बजारमा हिन्दु धर्मावलम्बीको दसैँ, तिहार, छठलगायतका चाडपर्वमा कलश, गमला, दियो, कोहालगायतका माटोका भाँडा बढी बिक्री वितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाका कमल पण्डितले बताउनुभयो ।

यहाँका पण्डित कुम्भकार (कुमहार)ले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रूपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकार कम भएको र केहीले पेसा नै छाडेकाले नेपाली बजारमा माटोको भाँडासमेत भारतीय बजारको भर पर्नुपरेको छ ।

अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन दुईदेखि तीन सय रुपैयाँ तिर्नुपर्ने कुमाल समुदाय जनकपुरधामका कन्हैया पण्डितले जानकारी दिनुभयो । उता केही नेपाली कुमालले पुर्ख्यौली पेसा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोका भाँडा बिक्रीका लागि तिहार र छठ तथा चौरचन्द नै पख्रनुपर्ने भएकाले सङ्कटमा परेको बताउँछन् ।

धनुषासहित यहाँका अधिकांश पण्डित कुमालले भाँडा बनाउने माटो र मेहनतअनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुर्ख्यौली पेसाबाट विमुख भएको बताउँछन् । 

पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेसा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् ।  रासस

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : ३७ बजे