थप ५७ वटा हिमाल आरोहणका लागि खुला

जिल्ला सह इन्चार्ज रेग्मी एमाले प्रवेश गरेसँगै माओवादी चितवन नेतृत्वविहीन

भक्तपुर  । नेकपा माओवादी केन्द्रका अध्यक्ष चितवनबाट गोर्खातिर प्रचण्ड भागेको महिना दिन नपुग्दै अर्का माओवादी नेता एमाले प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्र चितवनका जिल्ला सह इन्चार्ज रमेश रेग्मी बुधवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा रेग्मीसहित माओवादी निकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रह्लाद पोखरेल पनि एमाले प्रवेश गर्नुभएको एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिनुभयो । 

यसअघि, माओवादीकै जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार एमाले प्रवेश गर्नुभएको थियो । परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सह इन्चार्जविहीन भएको छ ।

एमाले प्रवेश गर्नुभएका रेग्मी माओवादी बागमती प्रदेश कमिटीको सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । 

पत्रकार नेता पोखरेल पनि बागमती प्रदेश कमिटीका सदस्य हुनुहुन्थ्यो । रेग्मीले यसअघि माओवादी केन्द्र चितवनको पटक पटक जिल्ला सचिव, काठमाडौँ र ललितपुरको समेत पार्टी सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

माओवादी केन्द्र ‘दाहाल एण्ड कम्पनी’ को रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिष्ट आन्दोलनलाई थप क्षति र बरबादी हुने भन्दै रेग्मीले आफूहरू कम्युनिष्ट आन्दोलनका मूल धार एमालेमा समाहित भएको बताउनुभयो ।

पार्टी प्रवेश गर्ने कार्यक्रममा माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियार लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : ४१ बजे