थप ५७ वटा हिमाल आरोहणका लागि खुला

विकास र समृद्धिसँगै देशमा राजनीतिक स्थायित्वको आवश्यकता छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मङ्सिर ४ गतेको दिनलाई गठबन्धन सरकारको बिदाइको दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ । 

गठबन्धन सरकारले देश बनाएका उदाहरण दुनियाँमा कहीँ नभएको र वर्तमान गठबन्धनका दलहरू सत्ता स्वार्थमा मात्र केन्द्रित रहेकाले यिनीहरूलाई सरकारबाट बिदा गर्नु आवश्यक रहेको बताउनुभयो । 

सोमबार दाङको विजौरीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले देश बनाउन स्पष्ट नीति, नेतृत्व र बलियो शक्तिको आवश्यकता चाहिने र मुलुकमा त्यो शक्ति नेकपा (एमाले) मात्रै भएको बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो–“नेपाली काँग्रेसले एक सयभन्दा कम सिटमा उम्मेदवारी दिएको, माओवादीले एक तिहाइमा पनि उम्मेदवारी नदिएको र नेकपा एसले २१ सिटमा उम्मेदवारी दिनु भनेको यी दलहरूले मुलुकमा राजनीतिक स्थिरता दिने र बलियो सरकार गठन गर्ने हैसियत गुमाइसकेका छन् भन्ने कुराको सङ्केत हो ।”

वर्तमान गठबन्धन सरकार बनेयता मुलुकले आर्थिक सङ्कटको सामना गरिरहेको, जनताले महँगीको मारमा पर्नुपरेको र किसानले खेतीपातीको समयमा मल नपाएको अवस्थाको चर्चा गर्दै जनताका समस्यामा कुनै सरोकार नभएको गठबन्धन सरकारका दलहरूलाई निर्वाचनमा जनतासँग भोट माग्ने अधिकार पनि नभएको बताउनुभयो । निर्वाचनपछि पनि गठबन्धन सरकार रही रहे देश आर्थिक रूपमा श्रीलङ्काको अवस्थामा पुग्ने उहाँको भनाई थियो । 

महासचिव पोखरेलले केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार र लुम्बिनी प्रदेशमा आफू मुख्यमन्त्री भएको समयमा गरिएका विकासका कामको चर्चा गर्दै सडक तथा पुल निर्माण, विद्युत् उत्पादन गरी लोडसेडिङको अवस्थाबाट विद्युत् निर्यात, नाकाबन्दीको डटेर सामना र अब नेपालीले कहिल्यै नाकाबन्दीको अवस्था भोग्नु नपर्ने स्थिति निर्माण, चुच्चे नक्सा प्रकाशन लगायत देश र जनताका पक्षमा गरिएका दर्जनौँ कामको स्मरण गराउनुभयो । 

उहाँले अध्यक्ष ओली नेतृत्वको सरकारले विश्वका उच्च आर्थिक वृद्धिदर भएका देशमध्येमा नेपाललाई पुर्‍याएको थियो भन्नुभयो।  देश र जनताका पक्षमा राम्रा काम गरिरहेको अध्यक्ष ओली नेतृत्वको सरकारलाई षडयन्त्रपूर्वक अदालतको सहारा लिई हटाइएको र त्यसयता विकासका काम रोकिएको, देश आर्थिक सङ्कटतर्फ गएको महासचिव पोखरेलले बताउनुभयो । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाई जनयुद्ध सुरु गरेको माओवादी केन्द्र १७ हजार मानिसको बलिदानीपछि आज उनै देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेको बताउँदै महासचिव पोखरेलले यसबाट प्रचण्डले जनयुद्धका शहीदहरूको अपमान गरेको बताउनुभयो । 

देशमा विकास र समृद्धिसँगै राजनीतिक स्थायित्वको आवश्यकता रहेको र त्यो बलियो शक्तिबाट मात्र सम्भव रहेको बताउँदै महासचिव पोखरेलले नेकपा (एमाले) बहुमतको सरकार बनाउने योजनाका साथ अगाडि बढेको बताउनुभयो । 

गत स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त गरेको र त्यसमा छ प्रतिशत बढाउँदा एमालेको बहुमतको सरकार बन्ने र गठबन्धन पनि पराजित हुने महासचिवको भनाई थियो ।

“सरकारमा रहेका दलका नेताहरू स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा गर्दैनन्, निर्वाचनका बेला भोटका लागि विना पैसा भिसा र टिकट उपलब्ध गराउने प्रलोभन दिन्छन्, यो लज्जाजनक कुरा हो”, महासचिव पोखरेलले भन्नुभयो, “आगामी निर्वाचनपछि एमालेको सरकार बन्दा देशलाई आर्थिक सङ्कटको गहिराइतर्फ जानबाट जोगाइने छ, युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरिने छ ।”

नेकपा (एमाले) एक सयबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले चार हजार रुपियाँ पुर्‍याइएको र एमालेको सरकार रहिरहेको भए पाँच हजार पुर्‍याउने प्रतिबद्धता कार्यान्वयन हुने थियो भन्नुहुँदै निर्वाचनपछि बन्ने एमालेको सरकारले बृद्धभत्ता बढाई पाँच हजार रुपियाँ पुर्‍याउने बताउनुभयो । 

महासचिव पोखरेलले घोराही उपमहानगरपालिका वडा नं. ८ बनगाउँमा रात्रिकालीन भेलालाई पनि सम्बोधन गर्नुभयो । उक्त भेलामा महासचिव पोखरेलले जनताले सत्तामा पुर्‍याएको एमालेलाई अदालतले सडकमा पुर्‍याएको हुँदा अदालतले सत्तामा पुर्‍याएकाहरूलाई जनताको बलमा सडकमा पुर्‍याई सरकारको नेतृत्व गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ३८ बजे