बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

‘जिरीलाई पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिन्छ’

​​​​​​​​​​​​​​​​​​​​​दोलखा । नेकपा एमालेका तर्फबाट दोलखा निर्वाचन क्षेत्र प्रदेश (क)का उम्मेदवार नरबहादुर श्रेष्ठले नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरीलाई विशेष गरी पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ । 

उहाँले जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै नेतृत्वमा आवश्यक पूर्वाधार विकासको काम अगाडि बढिरहेकाले त्यो काम एमालेकै नेतृत्वमा सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले आगामी कार्यकालमा जिरी विमानस्थल सुचारु गरी जिरीलाई पर्यटकीय हबका रूपमा प्रवर्द्धन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

चुनावी अभियानका क्रममा आइतबार जिरी पुग्नुभएका उम्मेदवार श्रेष्ठले जिरीमा विमानस्थल सञ्चालन नगरी पर्यटकीय गन्तव्य बनाउन नसकिने बताउनुभयो । 

“यो कृषि फार्मको रूपमा नापी भएको जग्गालाई एयरपोर्टका लागि ल्याउने प्रण गरौँ, हाम्रो पार्टी नेकपा एमाले सरकारमा हुँदा होस् वा नहुँदा होस्, मैले सांसद जितूँ वा नजितूँ जिरी एयरपोर्ट बनाउने प्रण गर्दछु ।”, उहाँले भन्नुभयो, “विमानस्थल नबनाइकन जिरीको विकास हुँदै हुँदैन । किनभने अहिले भइरहेको हेलिप्याडले मात्रै यहाँको चाप थेग्न सकिरहेको छैन ।”

उहाँले पर्यटकीय नगरी जिरीको विकास र समृद्धिका लागि ‘ग्रिन, क्लिन र अर्ग्यानिक जिरी’ अभियानलाई तीव्र पारिने पनि बताउनुभयो । 

उहाँले जिरीका निवर्तमान मेयर टङ्क जिरेलले अगाडि सार्नुभएको उक्त अभियानलाई आफूहरू निर्वाचित भएपछि पनि तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उम्मेदवार श्रेष्ठले निवर्तमान मेयर जिरेलले गर्नुभएका कामहरूको उच्च प्रशंसा गर्दै जिरेलले अगाडि बढाउनुभएका विकासका योजना र अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । 

“टङ्कबहादुर जिरेल पहिलो मेयरका रूपमा जिरीमा रहनुभयो । उहाँले विकासको खाकाहरू कोर्नुभयो र जिरीको विकासका लागि धेरै कामहरू गर्नुभएको छ” उम्मेदवार श्रेष्ठले भन्नुभयो, “ग्रिन जिरी, क्लिन जिरी र अर्ग्यानिक जिरी भनेर जुन मुभमेन्ट उहाँले चलाउनुभएको छ । यसलाई अहिलेको मेयरसापले पनि निरन्तरता दिनुपर्छ ।” 

यस्तै जिरी टेक्निकल स्कुल (जिरी प्राविधिक शिक्षालय) जिरीको अर्को आकर्षणको थलो भएको बताउँदै उहाँले त्यसलाई शैक्षिक हबका रूपमा विकास गरिने बताउनुभएको छ । जिल्लाबाहिरका विद्यार्थीहरूलाई आकर्षण गर्ने गरी त्यसको विकास गरिने उहाँको योजना छ । 

उहाँले जिरी अस्पतालको सेवा प्रवाहलाई गुणस्तर र प्रभावकारी बनाउने, जङ्गल र जडीबुटीको समुचित प्रयोग र सदुपयोग गरिने, सामुदायिक विकास, पर्या–पर्यटन, व्यवस्थित बजार र जनजीविकाका कुरालाई एमालेले विशेष ध्यान दिएर काम गर्दै आएको र आगामी दिनमा त्यसलाई थप उन्नत बनाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो  । 

उहाँले जिरीलाई एजुकेसन हब, टुरिजम हब र अर्ग्यानिक हबको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : २५ बजे