सुनको मूल्यमा नयाँ कीर्तिमान

कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

​​​​​​​काठमाडौँ । ओमिक्रोनको सङ्क्रामक सबभेरिएन्ट ‘एक्सबीबी’ नेपालमा पनि पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो । यो भेरिएन्टलाई उच्च सङ्क्रामक भनिएको छ । 

यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । 

प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिड विरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र सङ्क्रमण बढाउने खालको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार जाडो याममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : ०० बजे