डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

कपिलवस्तु (बुद्ध भूमि) ।  कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शुक्रवार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । 

४ नं तौलिहवा सडक खण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।

ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ । उहाँहरूको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । 

ट्रकमा सवार थप तीन जना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते हुनुभएको छ । उहाँहरूको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । 

बस्ती नजिकै भएको दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । रासस 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ५३ बजे