मानिस अथवा उसले बनाएको समाजका सामाजिक आचरण, रीतिरिवाज, मूल्य –मान्यता आदिको समग्र रूप नै संस्कृति हो । त्यसैले, फरक मानिसहरूको समूहको फरक संस्कृति हुने गर्छ । यो सन्तान दर सन्तान प्रसारित हुँदै जान्छ र आफ्नो पहिचान, धर्म, आस्था, खानपिन, भाषा, चालचलन, कला आदिका माध्यमबाट विकास हुने गर्छ । संस्कृति भनेको सबैले मानेको नियम हो । यो समुदायको भावना र पहिचानसँग जोडिएको परम्पराको कुरा हो (कोइराला, २०१८) । त्यसैले यसलाई फरक फरक सन्दर्भमा प्रयोग गर्ने गरेको पाइन्छ, जस्तै: जात जातिको संस्कृति, विकासको संस्कृति, कलाको संस्कृति आदि ।
समाजले यसका सदस्यहरूबाट अपेक्षा गरेका व्यवहारहरूलाई निर्देशित गर्ने नीति नियमहरूलाई मान्यता ९नमर््स० भनिन्छ । यसले मानिसहरूलाई फरक – फरक परिस्थितिमा के कस्ता व्यवहारहरू गर्नुहुन्छ वा हुँदैन भन्ने स्पष्ट पार्छ । ‘मूल्य’ एउटा अमूर्त अवधारण हो जसले केही कुराको महत्त्व, आवश्यकताबारे आधार प्रदान गर्छ ।
संस्कृति र विज्ञानको सम्बन्ध आदिम कालदेखिनै हुँदै आएको छ । मानिसको आविर्भाव तथा विकास सँगसँगै उसले आफ्नो संस्कृतिको पनि विकास गर्दै गयो । यता धर्म र संस्कृतिको त्यस्तै सम्बन्ध रहँदै आएको छ । अधिकांशतः धर्मलाई परमार्थको, मृत्युपछिको लागि छुट्याइएको पाइन्छ, तर संस्कृति भने जीवनकै लागि हुन्छ (कोइराला,२०१८) । हाम्रा संस्कृतिका राम्रा पक्षहरूको खोजी गरी त्यसभित्रको वैज्ञानिकता अध्ययन गर्नु जरुरी छ । अवैज्ञानिकता र जीवनाश गर्ने खालका सांस्कृतिक परम्परालाई प्रतिबन्ध समेत लगाउनु पर्छ । छाउपडी, बली प्रथा जस्ता कुरीतिको जति पैरवी गरे पनि त्यस्ता संस्कारको बन्देज गर्नु जरुरी छ ।
धेरै किसिमका बोटबिरुवा तथा जीवजन्तुले हाम्रो संस्कृतिमा प्रत्यक्ष असर पार्दछन् । रैथाने वनस्पति र कीट नियन्त्रण प्रक्रियाको प्रयोग गरी बालीको संरक्षण गर्ने प्रचलन निकै पुरानो हो । स्थानीय जातका वनस्पतिहरू जस्तै बोजो, रिट्ठा, नीम आदि परम्पराकाल देखिनै प्रयोग हुँदै आएका वनस्पति हुन् ।
यस्तै वनस्पतिहरूको प्रयोग गरी आयुर्वेद मात्र होइन, आधुनिक क्रिम तथा कस्मेटिकहरू बनाइने गरिन्छ । हामी भने यस्ता वनस्पतिहरूको महत्त्व भुल्दै जादैछौँ । हाम्रो संस्कृतिमा प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता वनस्पति तथा प्रविधिको प्रयोगले हाम्रो वातावरण संरक्षणमा समेत टेवा पुग्छ ।
हाम्रो संस्कृतिको प्रमुख पाटो स्रोत र साधनहरूको उपयोग गर्ने प्रक्रियासँग सम्बन्धित छ । ‘वसुधैव कुटुम्बकमल’ को मूल्यमान्यताले हामीलाई सबै मानव जातिहरूमा मेलमिलाप राख्नुपर्छ र सबैप्रति समभाव राख्नुपर्छ भन्ने कुरा सिकाउँछ । सम्पूर्ण प्राणीहरूको आत्मा एउटै हो भन्ने मान्यताका कारण हामी ‘‘प्राणी मात्रको जय’’ को नारा लगाउँछौँ तर सँगसँगै मानव जातिलाई सर्वोच्च प्राणीको स्थानमा राखेर अन्य प्राणी जगत् र वनस्पति जगत् केवल मानवहरूका आवश्यकता पूरा गर्नका लागि हुन् भनेझैँ गरी उनीहरूको महत्त्वलाई नकार्छौँ वा उनीहरूको अस्तित्व नामेट हुने अवस्थाप्रति असम्वेदनशील हुन्र्छौ ।
वास्तविक मूल्य – मान्यताहरू हाम्रो व्यवहारमा प्रदर्शित हुने भएकोले हामीले भित्रैदेखि स्वीकार गरेको मूल्य र मान्यताहरू यस्ता छन् भनेर त्यसको गुण बखान गर्नुको केही अर्थ रहँदैन । हाम्रा धेरै व्यवहारहरूमा परिवर्तन आइरहेको छ जसका पछाडि मूल्य– मान्यताहरूमा आएका परिवर्तन जिम्मेवार छन् । नाग लाग्छ भनेर ढुङ्गेधारा, कुवा छेउ फोहोर नगर्ने हामीहरूका निम्ति आज फोहोर फ्याँक्ने सुरक्षित स्थान तिनै ठाउँ भएका छन् । सार्वजनिक सम्पत्ति खाँदा ब्रम्हस्व लाग्छ भन्ने हामी नै सार्वजनिक सम्पत्ति हडप्न प्रतिस्पर्धा गरिरहेका छौँ । जमिनको उत्पादकत्वप्रतिको हाम्रो अगाध आस्थाका कारण हामी खाना फ्याँक्दा पाप लाग्छ सम्मका कुराहरू गर्थ्यो तर आज हामीले पैसा तिरेका कारण हामी जति पनि खाना फ्याँक्न सक्छौँ र त्यो हाम्रो इच्छाको कुरा हो भन्ने मूढाग्रह पालिरहेका छौँ । यस्ता उदाहरणहरू धेरै छन् जसले हाम्रा मूल्य –मान्यताहरू क्रमशः परिवर्तन हुँदै गइरहेको कुरा पुष्टि गर्छ । अर्थतन्त्रमा आएको सुधार, गरिब र धनी बिचको बढ्दो फाटो, प्रविधिमा आएको क्रान्ति र सञ्चार क्रान्तिका कारण हामीमा आफ्नो संस्कृतिलाई हेयको दृष्टिकोणले हेर्ने प्रवृत्ति ज्यादै बढेको छ र हामी सामूहिकताबाट व्यक्तिवादिताको दौडमा सामेल भइरहेका छौँ । हामी जानी नजानी उपभोक्तावादी संस्कृतिलाई अँगालिरहेका छौँ र ‘‘प्रयोग गर र फ्याँक’’ संस्कृतिलाई सभ्यताको पर्याय मानिरहेका छौँ । यस्ता विविध कारणहरूले हामी वातावरणीय असन्तुलनलाई बढावा दिइरहेका छौँ ।
हामी त्यस्तो सांस्कृतिक पृष्ठभूमिबाट आएका छौँ, जहाँ नाग, गाई, गोरु, काग, कुकुर, हात्ती जस्ता प्राणीहरूको पूजा गरिन्छ भने वर, पिपल, समी, तुलसी जस्ता वनस्पतिहरू पनि पुजिन्छन् । केही वनस्पति र प्राणीहरूको पूजा गर्ने हामी अन्य प्राणी र वनस्पतिहरूको दोहन गरिरहेका छौँ । स्वाभाविक छ हिजोका दिनमा ती जातिको प्रत्यक्ष र नजिकको सम्पर्कमा आएका र तिनको महत्त्वलाई आत्मसात् गरेका कारण मानव जातिले तिनीहरूको पूजा गर्ने चलन चलाएको हो । पूजा एउटा सम्मानको प्रतीक हुन सक्छ । सम्पूर्ण जीव –जगत्को अस्तित्व हाम्रो आफ्नो अस्तित्वका लागि जरुरी छ भन्ने स्वीकारोक्तिले हामीलाई तिनीहरूप्रति सम्मान गर्न सिकाउँछ तर सम्मानको रूप पूजा नै हुनुपर्छ भन्ने छैन ।
धार्मिक अन्धविश्वास तथा रुढीवादले अशिक्षित समूहलाई सजिलै आफ्नो चपेटामा पार्छ । तर धेरै शिक्षित मानिसहरू पनि यस्तो कुरामा विश्वास गर्दछन् । शहरका गल्ली तथा कुनामा सबै रोग निको पार्ने साइनबोर्ड राखेका तान्त्रिक तथा छद्दमवेशीहरू यत्रतत्र भेटिन्छन् । बिरामी तथा सामान्य मानिसहरूको मनोभावनामा खेल्न जान्ने यस्ता धामी झाँक्रीहरूले आधुनिक विज्ञानलाई सोझै चुनौती दिइरहेका छन् । यसका कारण कतिपय समयमा बिरामीको अकाल मृत्यु समेत हुने गरेको छ ।
बिरालोले बाटो काट्दा अशुभ हुने, हाच्छिउँ गर्दा बाहिर जान नमिल्ने, कुनै बार (ठाउँ अनुसार फरक फरक पर्न सक्छ) मा गाडी चढ्नु नहुने, कपाल नुहाउनु नहुने, नयाँ लुगा लाउन नहुने आदि जस्ता मान्यता राख्नेहरूको सङ्ख्या हाम्रो समाजमा अझै ठुलो छ । यस्ता खालका विचारहरू कतिपय शिक्षित मानिसहरूमा समेत हुने गर्छ । यस्ता कुराहरू गरेर आफूलाई विशेष देखाउने प्रयत्न विशेष गरी कतिपय शिक्षित सहरिया महिलाहरूमा बढी देखिन्छ । यस्ता कुराहरूमा कुनै वैज्ञानिक सत्यता छैन, यी त कुनै हुल्लड वा सन्की मानिसले कुनै बेला अरूलाई बेवकुफ बनाउन सुरु गरेका उटपट्याङ कामहरू मात्र हुन् ।
आदिम कालमा यातायातको व्यवस्था वा स्वास्थ्य सुविधा नहुँदा अन्तिम विकल्पका रूपमा मानसिक शान्तिका निम्ति बिरामीलाई धामी झाँक्रीमा पुर्याइँन्थ्यो । कतिपय मानसिक समस्या भएका बिरामीहरूलाई उनीहरूको उपचार विधि केही सही हुन सक्छ । तर, ब्याक्टेरिया, भाइरस वा अन्य परजीवीका कारण आक्रान्त बिरामीलाई उनीहरूले उपचार गर्ने सम्भावना नै रहँदैन ।
जडीबुटी विज्ञहरूले जडीबुटीको प्रयोग गरी केही रोगहरूको उपचार गर्न सक्छन् । वैज्ञानिक ढङ्गले आयुर्वेदिक पद्धति अपनाई धेरै किसिमका रोगहरूको उपचार गर्न सकिन्छ । तर, यो अर्कै विधा हो, जुन विज्ञानसम्मत छ । कतिपय धामी झाँक्री तथा धर्म प्रचारकहरूले ट्याब्लेटको औषधिलाई धूलो पारी विभिन्न नाम दिई केही सामान्य बिरामीहरू ठिक पार्ने गर्दछन् । यसको कारण उनीहरू आफ्नो विशेषज्ञता, दैवी शान्ति वा ईश्वरको कृपा भनी सोझा मानिसहरूको भावनामा खेल्ने गर्छन् ।
मानसिक तथा आत्मीय शान्तिका निम्ति धामी झाँक्री तथा तान्त्रिकका क्रियाकलापहरू सीमित गरिनुपर्छ । अन्धविश्वास तथा रुढीवादीलाई प्रश्रय गर्ने काम गर्नका लागि उनीहरूलाई कुनै पनि किसिमले उत्साहित गर्नु हुँदैन । आमसञ्चार माध्यमहरूले यस्ता गलत कार्यहरूलाई प्रश्रय दिने कामहरू रोक्नुपर्दछ ।
निष्कर्ष
विभिन्न ग्रहहरू, पृथ्वी र यसमा भएका जीवहरू प्रकृतिका विभिन्न नियम अनुसार चलिरहेका हुन्छन् । यिनीहरूबिच भएको सम्बन्धलाई उजागर गरी विभिन्न नियम तथा सिद्धान्तहरूको उजागर गरिएको छ । यो सम्बन्धलाई बुझ्ने, मनन गर्ने र यी सबैको अस्तित्व र यथार्थताको खोजी गर्ने सन्दर्भमा विज्ञानको दर्शनको विकास हुन्छ ।
दर्शनविनाको विज्ञान अपूरो हुन्छ । त्यस्तो विज्ञानले लामो यात्रा तय गर्न सक्दैन । विगत २५ सय वर्षयता विज्ञान र प्रविधिको चुरो कारणमा पुग्न प्रयत्नरत दार्शनिक तथा वैज्ञानिकहरूले दिएको विज्ञान दर्शनले विज्ञान तथा प्रविधिलाई हेर्ने हाम्रो दृष्टिकोणमा ठुलो योगदान दिएको छ । प्रसिद्ध दार्शनिकहरूले ठुला ठुला विचार दिए, तर उनीहरू मध्ये धेरैको जीवन अशान्त वा समस्याग्रस्त रह्यो, किनकि अरूले भन्न वा गर्न नसकेको कुरा भन्ने आँट उनीहरूले गरे ।
पूर्वीय र पश्चिमी दर्शनको विकास सँगसँगै जस्तो सुरु भए तापनि दस्ताबेजीकरण र ती विषयहरूको अन्वेषणमा भने हामी पछि परेका छौँ । धर्मसँगको दर्शनको लामो सम्बन्धका कारण के विज्ञान हो र के अबिज्ञान – त्यो छुट्याउन पनि कतिपय सन्दर्भमा असजिलो हुने गर्छ । धर्म, संस्कृति, संस्कार र अध्यात्मभित्र लुकेका वैज्ञानिक पक्षहरूलाई खोतली सर्वसाधारणको हितमा ल्याउने कार्यमा विज्ञान दर्शनको अहम् भूमिका हुने गर्छ । विज्ञान दर्शनको माध्यमबाट वैज्ञानिक सन्दर्भमा के सही र के गलत भन्ने कुरा छुट्याउन सकिने भएकोले यसको प्रयोगलाई व्यापकता दिनु आवश्यक छ । समृद्धिप्रतिको हाम्रो आकाङ्क्षालाई परिपूर्ति गर्ने सन्दर्भमा विज्ञान दर्शनको लोकप्रियता समेत बढाउनु आवश्यक छ ।
(लेखक पिएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)
प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ९ : ३१ बजे
प्रतिक्रिया