कांग्रेसलाई काँध बोक्दै प्रचण्डका बितेका वर्ष र यो निर्वाचन

वर्गीय हिसाबले विपरीत विचार र आस्था बोक्ने कांग्रेसलाई काँधमा बोकेर निर्वाचनको रेसमा प्रचण्ड र माधव नेपाल निस्केका छन् । उनीहरूको उद्देश्य यो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनु छ । त्यही उद्देश्य हासिल  गर्न कांग्रेसको चार तारे जामा भिरेर उनीहरू सडकमा निस्किएका हुन् । देशका धेरै ठाउँहरूमा आफ्नो पार्टीलाई होइन, कांग्रेसको निर्वाचन चिन्ह रुखलाई भोट माग्ने र हाल्ने निर्देशन कार्यकर्ताहरूलाई दिन अलिकति पनि  उनीहरूलाई लाज लागेको छैन । उल्टै प्रचण्ड यो निर्वाचनमा कांग्रेसलाई जिताएपछि समाजवादमा जाने आधार तय हुने भाषण गर्दे हिँडेका छन् । त्यसले उनले कार्यकर्ताहरूलाई यो  निर्वाचन सामान्य रूपमा नलिन निर्देशन नै दिएका छन् । 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जे वोल्छन, त्यसमा ताली पिट्नु हिजोआज प्रचण्ड–माधव नेपाललाई एक प्रकारको लत नै लागि सकेको छ । कुनै वेला कांग्रेसलाई वर्ग दुस्मन ठान्ने प्रचण्ड– माधव नेपालहरू अहिले किन कांग्रेसको हरेक कुराको सारथि बनिराखेका छन् ।  किन उनीहरू कांग्रेसको चुनाव चिन्ह रुखमा भोट मागिरहेका छन् ? के कांग्रेसलाई बलियो बनाएर प्रचण्ड र माधव नेपालको पार्टीको घोषणापत्रमा लेखिएको समाजवादमा पुग्न सकिन्छ ? उनीहरूले आफ्ना कार्यकर्ताहरूलाई रुखमा भोट हाल्ने निर्देशन दिएर समाजवादमा पुग्ने बाटो खुल्छ ? होइन, भनी के का लागि देउवा,प्रचण्ड र माधव नेपालबीचको यो अप्राकृतिक गठबन्धन । विपरीत विचारधारा बोक्ने पार्टीहरुबीचको निर्वाचन अघि नै यस्तो गठबन्धन भएको कहीँ कतै सुनिएको छ ? कुनै पनि हिसाबले यो गठबन्धन देश हितको पक्षमा छैन । सबैलाई थाह नै छ, देउवा नेतृत्वमा रहेको गठबन्धनको शासनकाल मुलुक र जनताका लागि कष्ट साध्य बन्यो । बितेको देउवा शासनकाल महँगीले आकाश छोयो।  विकास निर्माणमा हिसाबले उपलब्धि शून्य नै रह्यो ।

 उल्लेखनीय केही र कुनै पनि क्षेत्रमा काम भएन । न त राष्ट्रको हितको पक्षमा नै यो सरकारले केही ग¥यो । राष्ट्र हितको सवालमा इतिहासमा नै गठबन्धन सरकार कमजोर रह्यो । प्रचण्डले गठबन्धन सरकार निर्माण हुनु अघि भने झैँ यो सरकार विदेशीका लागि भने कम्फर्टेबल नै रह्यो ।   साबित हुन पुगेको देउवा सरकार समाजका सबै क्षेत्रमा असफल रह्यो । तमाम  असफलताका बाबजुद पनि गठबन्धन संयुक्त मोर्चा बनाएर  चुनावमा ओर्लिएको छ । र, अलिकति पनि लाजै नमानी रुख ,कलम हँसिया हतौडा एकै हो भनी यसका नेताहरू भोट मागिरहेका छन् । रुख,कलम र हँसिया हतौडा एकै हो भने किन एउटै पार्टी नबनाएको ? किन एउटै चुनाव चिन्ह लिएर नआएको ? उनीहरूले भने झैँ एउटै हो भनी किन छुट्टा–छुट्टै चुला खडा गरेको ?

बितेका वर्षमा मात्रै होइन, अहिले पनि प्रचण्डले कांग्रेसलाई पहिलो पार्टी बनाउने भाषण गर्दे आएका छन् । यो देशमा कुनै बेला पहिलो पार्टी बनेको थियो माओवादी ।  त्यसका  अध्यक्ष प्रचण्डले अहिले  निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने भाषण गरेको सुन्दा उनी कुन गतिमा राजनीतिको ओरालो यात्रामा झर्दै छन्,भन्ने कुरा सहजै  अनुमान गर्न सकिन्न र ?

उनको यो चालाले माओवादी केन्द्रको राजनीतिक ढुङ्गा एक्लै खियाएर पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा प्रचण्ड  पुगेका हुन भन्ने अनुमान गर्न सकिन्छ । अर्थात्  आफ्नै खुट्टामा टिक्न र हिँड्न नसक्ने अवस्थामा उनले माओवादी पार्टीलाई पु¥याएकै कारण कांग्रेसको सहारा खोजेको हुन ? त्यसो त कुनै एउटा पार्टीको प्रमुखले अर्को पार्टीलाई निर्वाचनमा  पहिलो पार्टी बनाउने भनेर हिँडेको सुन्दा नै अचम्म लाग्छ ।

तर, केही समययता देखी नै प्रचण्ड कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा छन् । त्यसै भएर १६५ क्षेत्रबाट ओर्लिएर जम्मा ४२ सिटमा उनी खुम्चिएका छन् । उनी जति ठूला–ठूला स्वरले कुर्लिए पनि उनको वास्तविक हैसियत उनको पार्टीले पाएको त्यही ४२ सिटले साइजमा ल्याइदिएको छ । र,कुनै बेलाको पहिलो र मुलुकै सशक्त माओवादी पार्टी आज एक्लै निर्वाचन उभिनै नसक्ने अवस्थामा पुगेको छ । समग्रमा भन्ने हो भने माओवादी एक थान मन्त्री पाउनकै लागि मात्रै यो गठबन्धनको खेला लागेको छ । 

निश्चय पनि कुनै पनि राजनीतिक पार्टी आफ्नै मूल्य,मान्यता र सिद्धान्तमा चल्ने गर्छ । त्यही मूल्य–मान्यताको धरातलमा टेकेर दलको राजनीतिलाई अघि बढाउँछ । र, विचार समूह मिल्ने र हिँड्ने बाटो एउटै भएका हरूसँग एकता र सहकार्य गर्दै अघि बढ्ने गर्छ । आफ्नो पार्टीको मूल्य,मान्यता र सिद्धान्त विपरीत हिँडेर कुनै पनि पार्टीहरूले गन्तव्य भेट्दैनन् । गन्तव्य भेट्न विचार,आस्था र सिद्धान्त मिल्ने पार्टीहरू सँग सहकार्य र एकता गरेर मात्रै पुग्न सकिन्छ । र, त्यो नै प्राकृतिक बाटो हुनेछ । त्यसो त ,देउवाले गठबन्धनको गलपासो प्रचण्ड वा नेपाली कांग्रेसकै अरू कोहीलाई प्रधानमन्त्री बनाउनका लागि फ्याँकेकै हुँदै होइन,त्यो उनी आफै फेरी पनि प्रधानमन्त्री बन्न बुनेको जालो मात्रै  हो । 

देउवाले आफू बाहेक अरू कोहीलाई राजनीतिक लाभ हुने हिसाबले गठबन्धनको कसरतलाई निरन्तरता दिएको हुँदै होइन । देउवाले चाहेको यो गठबन्धन पार्टी स्वार्थमा होइन, मात्र सत्ता स्वार्थमा केन्द्रित छ । हिजो टाउको काट्ने र काटिने बीचको यो गठबन्धन राजनीतिक सिद्धान्तको जगमा बसेको पनि  होइन । न त मुलुक निर्माणको स्वार्थमा नै यो गठबन्धन जोडिएको हो । यो गठबन्धन व्यक्तिगत राजनीतिक महत्त्वाकाङ्क्षा र सत्ता स्वार्थको सुखभोग उपभोग गर्ने निकृष्ट सोचका साथ निर्माण गरिएको हो । यो गठबन्धनले मुलुकलाई सम्बृद्धिको दिशातर्फ लैजान्छ भन्ने ठान्नु,उल्टो यात्रा हिँडेर या दौडिएर  गन्तव्य पुगिन्छ भनेर दिउँसै सपना देख्नु जस्तै हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : ५९ बजे