डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रहरी प्रशासनको झुन्ड लिएर मत माग्दै गृहमन्त्री

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रशासनको झुन्ड लिएर मत माग्दै हिँड्नुभएको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएका गृहमन्त्री खाण भैरहवामा वडा स्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गर्न दर्जन बढी प्रहरी लिएर पुग्नुभएको हो ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकाका काँग्रेस केन्द्रीय सदस्य समेत र हुनुभएका गृहमन्त्री खाणको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सादा पोसाकका सुरक्षाकर्मी गरी दुई दर्जनभन्दा बढी प्रहरी खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमाण्डमा गाडीसहित प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीको २७ नम्बर गणले पनि सशस्त्र प्रहरी निरीक्षककै कमाण्डमा सशस्त्र प्रहरी गाडीसहित छ । ट्राफिक प्रहरी पनि ट्राफिक व्यवस्थापनका लागि खटेको छ ।  

बहालवाला मन्त्री हुनुभएकाले सरकारले नै व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी प्रदान गरे पनि क्षेत्रगत रूपमा जिल्लाबाट पनि कार्यक्रम भएको स्थलमा प्रहरी परिचालन हुँदै आएको छ । 

घण्टौँसम्म हुने कार्यक्रममा सुरक्षाकर्मी क्षेत्र नम्बर ३ का उम्मेदवारसँग सँगै छन् । बहालवाला मन्त्रीले नै निर्वाचन आचारसंहिता २०७९ विपरीत आफ्नै प्रचार प्रसारमा हिँड्नुभएको छ ।

उहाँ चुनावको रन्को लागेदेखि मन्त्रालयमा समय नदिई प्रहरीको गाडीसहित प्रचार प्रसारमा मत माग्दै हिँडिरहनुभएको छ । उहाँले सरकारी खर्चमा सरकारको गाडी प्रयोग गर्दै प्रचार प्रसारमा मतका लागि अनुरोध गरिरहनुभएको छ ।

निर्वाचन मिति तय भएपछि गृहमन्त्रीको ध्यान समग्र देशभर हुनुपर्नेमा उम्मेदवारी दिएको क्षेत्रमै मात्र रहेको छ । “उहाँ आउँदा हामीलाई आवागमनमा समस्या भइरहेको छ, प्रहरीले यताबाट नजाऊ उताबाट जाऊ भन्दै बाटो देखाइरहेको छ । यति नै सुरक्षाको डर छ भने निर्वाचन किन लड्नु भएको हो, सधैँ भैरहवामै हिँडिरहँदा हामीलाई सास्ती भएको छ” एक बटुवाले भन्नुभयो । 

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ४ (क) मा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । 

त्यस्तै, परिच्छेद ३ को दफा ५ क १ को (क) मा प्रतिबन्धात्मक वाक्यांशबमोजिम निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने छ । तर सरकारकै गाडी रहेको प्रहरीको गाडी प्रयोग भएको छ । 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ३३ बजे