हामी लोकतन्त्रलाई न्यायसँग जोड्छौँ । हामीले कमसेकम समाजवादको आधार तय गर्यौँ । हामी के भन्छौँ भने मानव जातिले खान लगाउन पाउनु प¥यो, खाने कुरा सामान्य कुरा हो, लगाउने सामान्य कुरा हो, आवास सामान्य कुरा हो, सन्तान पढाउने कुरा सामान्य कुरा हो, स्वास्थ्य सामान्य कुरा हो । यी आधारभूत कुरा पूरा भएपछि हामी एक तह अघि बढ्न सक्छौँ । आधारभूत कुराहरूलाई हामीले सम्बोधन गरेका छौँ । हामी अब मानवीय आवश्यकताका थप कुरामा जानुपर्छ । आधारभूत आवश्यकताको परिपूर्ति सँगसँगै अधिकारका प्रश्नहरूको सुनिश्चितता हुनुपर्छ । त्यो अवसरसम्म पुग्ने अधिकारको सुनिश्चितता हुनुपर्दछ ।
त्यसैगरी सामाजिक न्याय प्राप्त गर्नुपर्छ । लैङ्गिक लगायत अरू अनेक भेदभाव र पक्षपात हटाउनुपर्छ । आधारभूत आवश्यकताको परिपूर्ति मात्रै होइन, हामीले भनेको लोकतन्त्रमा समान हक, समान अवसर, सामाजिक न्यायमा समानता र सुरक्षामा समानता पर्छ । अहिलेसम्म मानव जातिले प्राप्त गरेका र विकास गरेका सुविधा सहुलियतहरूको समान रूपमा उपभोग गर्ने अधिकार सबैलाई हुनुपर्यो । त्यसलाई प्राप्त गर्न सबैको क्षमता वृद्धि गर्नुपर्यो । सबैले सुरक्षित र निर्भय जीवन जिउन पाउनुपर्यो । सबैले सम्मानित जीवन जिउन पाउनु प¥यो । विभेद, बहिष्करण र मनोवैज्ञानिक यातनाजस्ता कुराहरूबाट मुक्त समाज निर्माण गर्नुपर्यो । त्यस्तो समाज, जहाँ समृद्धि छ, जहाँ समानता छ, जहाँ सुरक्षा छ, शान्ति छ र जहाँ सम्मान छ । अर्थात् संक्षिप्तमा भन्ने हो भने जहाँ जैविक र मानवीय आवश्यकताहरूको परिपूर्तिको उपलब्धता छ । त्यसलाई हामी समाजवाद भन्छौँ । त्यसलाई हामी समृद्ध नेपाल, सुखी नेपाली भन्छौँ । त्यसलाई हामी जनताको बहुदलीय जनवाद भन्छौँ । त्यसलाई हामी परिपूर्ण लोकतन्त्र, कम्प्रिह्यान्सिभ डेमोक्रेसी भन्छौँ ।
बुर्जुवाहरूले जनताको बहुदलीय जनवाद भन्दा त्यसको मर्म बुझ्दैनन् । त्यस कारण मैले त्यसलाई अर्को सूत्रमा परिपूर्ण लोकतन्त्र भनेको हुँ । अन्तर्राष्ट्रिय मञ्चहरूमा मैले परिपूर्ण लोकतन्त्र भन्ने गरेको छु । जहाँ राजनीतिक स्वतन्त्रताको मात्रै कुरा होइन, राजनीतिक अधिकारको मात्रै कुरा होइन । सामाजिक न्याय, समानता, आर्थिक विकास, समृद्धि, शान्ति, सुरक्षा र सम्मानित जीवनको कुरा छ । यी सबै कुरा सहितको लोकतन्त्र नै जनताको बहुदलीय जनवाद हो । जनताको बहुदलीय जनवादले भनेको त्यही हो । त्यसलाई हामीले जनताले एकदम सजिलोसँग बुझ्ने भाषामा समृद्ध नेपाल, सुखी नेपाली भनेर सरकारी कार्यक्रमको रूपमा अघि बढाएका छौँ ।
बुर्जुवाहरू साँघुरो सोचका छन् । त्यसैले, हामीले जनताको बहुदलीय जनवाद भनेर लगेनौँ । जनताको बहुदलीय जनवादलाई लोक भाषामा अनुवाद गर्यौँ–समृद्ध नेपाल सुखी नेपाली । सोझै समाजवाद पनि भनेनौँ, समृद्ध नेपाल सुखी नेपाली भन्यौँ । तर बुर्जुवाहरू त्यो पनि भन्न चाहँदैनन् । उनीहरू समृद्ध नेपाल सुखी नेपाली भन्दा त्यसलाई समाजवादजस्तो वा जनताको बहुदलीय जनवादजस्तो भन्ने बुझिन्छ भनेर झस्किन्छन् । त्यसैले उनीहरूसमृद्ध नेपाल, सुखी नेपाली भन्दैनन् । समृद्ध नेपाल सुखी नेपाली शब्दावलीलाई अस्ति एक जना ट्वाकटुके नेताले चलाइहालेछन् । उनले समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भनेछन् । ‘समृद्ध नेपाल, सुखी नेपाली कहाँ हुनसक्छ’ भनेर अर्को फेरि निस्किहालेछन् । उनीहरू छिनो र हम्मर लिएर ट्वाक ट्वाक पार्दै शब्दहरूको सम्पादनमा निस्केका छन् । उनीहरूका लागि यो शब्दको खेल मात्रै हो । हाम्रा लागि यो जनताको जीवनमा सुख ल्याउने कार्य प्रणाली हो । हामीले व्यवहारबाट पुष्टि गर्दा पनि उनीहरूले जनताको बहुदलीय जनवादलाई स्विकार्न सकेका छैनन् ।
सबैले बुझ्ने भाषामा भन्दा जनताको बहुदलीय जनवाद भनेको समृद्ध नेपाल, सुखी नेपाली हो । जनताको बहुदलीय जनवाद भनेको (कम्प्रिह्यान्सिभ डेमोक्रेसी) परिपूर्ण लोकतन्त्र हो । अहिले हामीले जनताको बहुदलीय जनवादलाई विकसित गरेका छौँ । जनताको बहुदलीय जनवाद भनेर त्यही २०४९ सालको पाँचौँ राष्ट्रिय महाधिवेशनभन्दा अगाडिकै ठाउँमा हामी बसिरहेनौँ । यस बिचमा हामीले धेरै वैचारिक सङ्घर्ष गर्यौ, जनताको बहुदलीय जनवादलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्यौँ र विस्तार गर्यौँ । जनताको बहुदलीय जनवाद छ र हामीले विकास गर्न सकेका छौँ । जनताको बहुदलीय जनवाद छ र हामीले हाम्रा विचारहरूलाई जनताका बीचमा आकर्षक रूपमा प्रस्तुत गर्न सकेका छौँ । त्यस कारण समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको अनुवादित रूप हो । राजनीतिक भाषामा यो जनताको बहुदलीय जनवाद हो । यसलाई जनभाषामा अनुवाद गर्नु भयो भने समृद्ध नेपाल, सुखी नेपाली बन्छ ।
हामीले समाजवादसम्म पुग्ने भनेका छौँ । जनताको बहुदलीय जनवादमा समाजवाद पनि छ । त्यसको पछिल्लो रूप र गन्तव्य समाजवाद हो । जनताको बहुदलीय जनवाद भनेको जनवाद पनि हो, समाजवाद पनि हो । जनताको बहुदलीय जनवाद लोकतन्त्र सहितको समृद्धि, समाजवाद सहितको समृद्धि, समृद्धि सहितको लोकतन्त्र र समाजवाद सहितको लोकतन्त्र हो । यो समाजवाद सहितको सामाजिक न्यायको व्यवस्था हो । हामीले यी कुराहरूलाई बहुआयामिक ढङ्गले बुझ्न जरुरी छ । त्यसै कारण नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई आफ्ना सम्पूर्ण कामको मार्गदर्शक सिद्धान्त बनाएको छ । जनताको बहुदलीय जनवाद राजनीतिक आन्दोलनको मात्रै होइन, विकासको अभियान, वातावरणीय अभियान, मानवअधिकारको अभियान र अन्य मानवीय अभियान लगायत विभिन्न क्षेत्रहरूका कामलाई मार्गदर्शन गर्ने सिद्धान्त हो ।
त्यस कारण जनताको बहुदलीय जनवाद मानव जातिले आजसम्म समाज परिवर्तन र रूपान्तरणका सम्बन्धमा गरेका प्रयासहरू र ती प्रयासले प्राप्त गरेका राम्रा र सकारात्मक उपलब्धिहरू, तत्सम्बन्धका अनुभवहरू र ती अनुभवको निष्कर्षको सारतत्व हो । अनुभवलाई जसरी सैद्धान्तीकरण गरिन्छ, व्यवहारका अनुभवहरूलाई त्यसरी सैद्धान्तीकरण गरिएको सारतत्व जनताको बहुदलीय जनवाद हो । हामी विश्व परिप्रेक्ष्यमा दाबी गर्दैनौँ– हाम्रो देशको सन्दर्भमा मानव जातिले समाज विकास र परिवर्तनको सन्दर्भमा, त्यसका निम्ति गरेका सम्पूर्ण चेष्टाहरू र सम्पूर्ण प्रयासहरूलाई सैद्धान्तीकरण गरेर जनताको बहुदलीय जनवाद आएको हो । यी सबै सङ्घर्षहरूलाई विभिन्न रूपमा सैद्धान्तिकरण गरेर उन्नत सामाजिक व्यवस्था र न्यायपूर्ण समाजको परिकल्पना यसले गरेको छ । ती कुराहरूको अन्तिम दृष्टान्त अथवा मार्क्सवादको आजको भर्सन ‘माक्र्सिज्म’को नेपाली ‘भर्सन’, विश्व कम्युनिष्ट आन्दोलनको आजको नेपाली भर्सन जनताको बहुदलीय जनवाद नै हो । यदि कोही सैद्धान्तिक, वैचारिक, राजनीतिक र दार्शनिक कुनै हिसाबले चुनौती दिन चाहन्छ भने ‘वी आर रेडी टु डिस्कस ।’ हामी त्यो चुनौती स्विकार्न तयार छौँ । सैद्धान्तिक जगमा, सामाजिक मनोविज्ञान रूपान्तरणको सम्बन्धमा जनताको बहुदलीय जनवादको अहिले सम्मकै उच्चतम वैज्ञानिक उचाइ छ । त्यस कारण यो पछिल्लो वैज्ञानिक उचाइ हो । यो वर्तमान समयको मार्क्सवादको पछिल्लो संस्करण हो ।
प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार ८ : ५३ बजे
प्रतिक्रिया