तपाईँले दिनमा के के सामान प्रयोग गर्नुहुन्छ ? सामान्य मानिने घरायसी औजारदेखि निकै बहुमूल्य मानिने महँगो सामानसम्म । तपार्इँले यसरी दिनहुँ प्रयोग गरिरहने सामान केबाट बन्छन् भनेर कहिलेकाहिँ सोच्नुभएको छ ? सोच्नु भएको छैन भने अब थाहा पाउनुहोस् कि तपार्इँले प्रयोग गर्ने हरेक समानहरू हाम्रै पृथ्वीमा रहेका विभिन्न धातु, अर्धधातु तथा अधातुबाट निर्माण गरिन्छन् । बिहान उठेलगत्तै पानी पिउन प्रयोग हुने गिलासदेखि आजको प्राविधिक युगमा अत्याधिक प्रयोग हुने मोबाइल सम्मको निर्माणमा विभिन्न धातु, अर्धधातु तथा अधातुको प्रयोग हुने गर्दछ । यसरी मानिसको जीवनमा नभई नहुने वस्तुको निर्माणमा प्रयोग हुने धातु, अर्धधातु तथा अधातु हामी रहेकै पृथ्वीमा पाइन्छन्, जसको अध्ययन एउटा छुट्टै विज्ञानले गर्ने गर्दछ; जसलाई हामी सबैले बुझ्ने भाषामा भूगर्भविज्ञान (भूगर्भशास्त्र) भनिन्छ ।
मानव जातिको उत्पत्ति र विकास हुँदैगर्दा परापूर्व कालदेखि मानिसहरूले भूगर्भसँग सम्बन्धित वस्तुहरूको प्रयोग गरेको पाइन्छ । हातहतिहारका लागि प्रयोग हुने ढुङ्गाका औजारहरू, बस्नका लागि प्रयोग हुने माटाका घरदेखि खानाको लागि गरिने खेती प्रणाली, स्वास्थ्य उपचारका लागि अतिआवश्यक वस्तुहरूको प्रयोग पृथ्वीको सतह वा सतहमुनि पाइने पदार्थहरूबाट भएको पाइन्छ, जसको पूर्ण अध्ययन भूगर्भशास्त्रले गर्ने गरेको छ । आदिम युगबाट थप विकसित पुस्ता निर्माण हुँदैगर्दा मानिसले ढुङ्गा सहित खनिज पदार्थको प्रयोग गर्ने, खनिज पदार्थलाई आयस्रोतको माध्यम बनाउने, ती पदार्थहरूको स्रोतको औद्योगिक उत्पादन गर्दै विभिन्न मुलुकहरू आर्थिक रूपमा सबल बन्न सकेको दृष्टान्त सबैका सामु छर्लङ् रहेको छ । स्वास्थ्य जगतका लागि चाहिने औषधि निर्माण, सम्पूर्ण दैनिक प्रयोगमा आउने सर–सामान, औजार तथा उपकरण, इन्धनका स्रोतहरूमा खनिज पदार्थको प्रयोग अपरिहार्य रहेको छ । पृथ्वीको सतह र सतहमुनि भएका चट्टानहरूमा विभिन्न अवस्था र स्वरूपमा पाइने खनिज पदार्थ नै माथि उल्लेखित वस्तुहरूका स्रोत हुन् । यिनै स्रोतको खोजी, पहिचान र प्राविधीकरण गर्ने कामको अध्ययन भूगर्भशास्त्रले गर्ने गर्दछ ।
मानिसले खाने अन्न उत्पादन हुने जमिन तथा जमिनको भूधरातलको अध्ययन भूगर्भशास्त्रले गर्दछ । यस अर्थमा पहाडी भेगमा रहेको भिरालो जमिनको भुूधरातल कस्तो छ, हामीले उक्त स्थानमा आउने विपद् न्युनीकरण कसरी गर्न सक्छौँ भन्नेमा यस शास्त्रले आवश्यक ज्ञान प्रदान गर्दछ । मानिसका लागि निकै आवश्यक आधारभूत आवश्यकतामा बस्ने स्थान अर्थात् बासस्थान रहेको छ । बाँच्न र बस्नका लागि नभई नहुने घर र घर निर्माणमा हामीले विभिन्न वस्तुहरूको प्रयोग गर्ने गर्दछौँ । घर बनाउन प्रयोग हुने ढुङ्गा, माटो, बालुवा सहित सिमेन्ट, फलाम, जस्तापाता सबै वस्तुहरू विभिन्न खानीबाट निकालेर निर्माण गर्दछौँ । घरमा चाहिने भाँडाबर्तन तामा, फलाम, आलुमिनियम, स्टिल, चरेश, काँच आदिबाट बनाइन्छ । यसका लागि उल्लेखित धातुहरू खानीबाट उत्खनन् गरी औद्योगिक उत्पादनबाट निर्माण गरिन्छ । यस्ता सबै चिजको पहिलो अध्ययन भूगर्भशास्त्रले गर्दछ, जसका लागि खनिज पदार्थको स्रोतको प्रारम्भिक पहिचानदेखि सम्पूर्ण अध्ययन र उत्खनन्को काम भूगर्भशस्त्रीले गर्ने गर्दछन् ।
आधुनिक युगमा औधोगिक विकास अगाडि बढिरहँदा मानिसले प्रयोग गर्ने प्रत्येक वस्तु र सामानमा खनिज जन्य पदार्थको प्रयोग पाइन्छ । यातायातका हरेक साधन, डिजिटल युगमा प्रयोग हुने मोबाइल फोन, कम्प्युटर सहितका अनेकौँ सामाग्रीमा विभिन्न धातु, अधातुको प्रयोग पाइन्छ । हामीले प्रयोग गर्ने मोबाइल फोनमा सुरून, तामा, कोबाल्ट लगायतका खनिज स्रोत प्रयोग गरिएको हुन्छ । स्वास्थ्य उपचारका लागि औषधि निर्माण, खेती उत्पादनका लागि रासायनिक तथा प्राङ्गारिक मल निर्माणमा पर्याप्त मात्रामा खनिजजन्य स्रोतको प्रयोग हुन्छ । फोस्फेट, जिप्सम, पोटासियम फेल्डस्पार एग्रोमिनरलको रूपमा प्रयोग गरिन्छ ।
दैनिक आवश्यकतासँग जोडिएका यस्ता खालका खनिज पदार्थको प्रयोग देशको आर्थिक विकासको लागि अपरिहार्य हुन्छन् । पछिल्लो विश्वमा मुलुकहरूको अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने खनिज पदार्थको प्रयोग हरेक दिन बढिरहेको छ । तपार्र्इँ हाम्रो वरपर रहेका चट्टान, बालुवा, माटो सहित यिनीहरूमा पाइने खनिज पदार्थ तपार्र्इँको स्थानको आर्थिक विकासको मेरुदण्ड हुन् । नेपाल आफैमा खनिज स्रोतले भरिपूर्ण मुलुक हो । हरेक किसिमका चट्टान पाइने नेपालमा फलाम, तामा, सुरून, फस्फोरस, चुनढुङ्गा, म्याग्नेसाइट, रत्नपत्थरहरू, बालुवा, ढुङ्गा आदि खानीको पर्याप्त उत्खनन् र प्रशोधन हुन सकेको छैन । देशभित्र नै उपलब्ध जनशक्तिको प्रयोग र खानी क्षेत्रमा उपयुक्त लगानी आजको आवश्यकता हो । मानिसको दैनिक आवश्यकता परिपूर्तिका लागि बर्षेनि अर्बाँै रकम विदेश निर्यात गर्नुको सट्टा देशकै स्रोतको प्रयोगबाट आधारभूत आवश्यकता पूर्ति गर्न भूगर्भशास्त्र र यसको उत्पादनलाई प्राथमिकतामा राखी राज्यले नीति नियम बनाउन जरुरी छ ।
प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार १ : ३५ बजे
प्रतिक्रिया