यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

चिनियाँले ब्रिटिश पूर्व पाइलटहरूलाई प्रलोभनमा पारेको दाबी

काठमाडौं – पूर्व ब्रिटिश सैन्य पाइलटहरूलाई आफ्नो विशेषज्ञता चिनियाँ सेनालाई हस्तान्तरण गर्नका निम्ति ठूलो रकमको प्रलोभनसहित चीन पठाइएको दाबी गरिएको छ। चीनको पिपल्स लिबरेशन आर्मीका सदस्यहरूलाई तालिम दिनका लागि यूकेका ३० जना पूर्व सैन्य विमान चालकहरू त्यहाँ गएको ठानिएको छ।

यूकेले पूर्व सैन्य पाइलटहरूलाई चिनियाँ सेनाको लागि काम नगर्न एक गुप्तचर चेतावनी जारी गर्दैछ। पश्चिमी अधिकारीहरूका अनुसार पाइलटहरूलाई उच्च रकम र पदको प्रलोभन देखाइ प्रस्ताव गर्ने क्रम हालसालै तीव्र बनेको छ र यो प्रक्रिया जारी छ।

रक्षा मन्त्रालय (एमओडी) का एक प्रवक्ताका अनुसार तालिम र पाइलटहरूको भर्तीले यूकेको कुनै विद्यमान कानुनको उल्लङ्घन गर्दैन। यद्यपि, यूके र अन्य देशका अधिकारीहरूले उक्त गतिविधिलाई रोक्न खोजिरहेका छन्। ‘यो मानिसहरूलाई प्रस्ताव गरिएको एक आकर्षक अवसर हो,’ एक पश्चिमी अधिकारीले भने, ‘पैसा बलियो प्रेरक हो।’

केही प्रस्तावहरू दुई लाख सत्तरी हजार अमेरिकी डलर बराबर भएको ठानिएको छ। सेवा निवृत्त ब्रिटिश पाइलटहरूलाई पश्चिमी विमानहरू कसरी सञ्चालन हुन्छन् भन्ने तरिका बुझ्न मद्दत गर्न प्रयोग गरिन्छ। त्यस्ता जानकारीले पछिल्लो समय ताइवानसँग भएजस्तै कुनै पनि द्वन्द्वको समयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

‘उनीहरू ज्ञान हस्तान्तरण गर्नका निम्ति निकै महत्त्वपूर्ण छन्,’ एक पश्चिमी अधिकारीले भने, ‘चिनियाँ सैन्य वायुसेना रणनीति र क्षमताहरू विकास गर्न अनुभवसहितका पश्चिमा पाइलटहरूको मद्दत लिइरहेका छन्।’ सन् २०१९ मा पूर्व सैन्य पाइलटहरू भर्ती भएका केही घटनाहरूको बारेमा यूके पहिलोपटक जानकार भएको थियो जसलाई हरेक घटनाको आधारमा सम्बोधन गरिएको थियो।

कोभिड-१९ महामारीका कारण चीन पुग्न लगभग असम्भव हुँदा ती प्रयासहरू केही सुस्त भएको थियो। तर अब ती प्रयासको गति बढेको छ जसले चेतावनी समेत जारी गर्ने अवस्था सिर्जना गरेको छ। ‘हामीले यस क्रम उल्लेखनीय रूपमा वृद्धि भएको देख्यौँ,’ एक पश्चिमी अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘यो मुद्दा चलिरहेको छ।’

सेवारत कर्मचारीहरूलाई समेत लक्षित गरिए पनि हालसम्म कसैले पनि उक्त प्रस्ताव स्वीकार नगरेको मानिन्छ। सैन्य तथा शाही वायु सेनाका पाइलटहरूसँग तीव्र गतिको जेट र हेलिकप्टरहरू सञ्चालनको अनुभव छ। उनीहरूले टाइफुन, ज्यागुआर, ह्यारिअर र टोर्नाडोहरू उडाएका छन्।

एफ-३५ पाइलटहरूप्रति चीनले चासो देखाए पनि उनीहरू त्यसमा संलग्न नभएको ठानिएको छ। केही पाइलटहरू ५० वर्षको उमेर समूहका छन् र केही समयअघि सैन्य सेवाबाट अवकाश लिएका छन्। अन्य सहयोगी राष्ट्रका पाइलटहरूलाई पनि निशाना बनाइएको छ। अधिकारीहरूले उनीहरूलाई उच्च रकम र पदको प्रलोभन देखाएर काममा लगाउने हेड-हन्टर मार्फत् भर्ती गरिएको बताए। यस प्रक्रियामा दक्षिण अफ्रिकामा रहेको एउटा विशेष फ्लाइङ एकेडेमी संलग्न रहेको समेत जनाइएको छ।

कुनै पनि विमान चालकले अफिसियल सेक्रेट एक्ट भनिने गोपनीयता सम्बन्धी ऐन तोडेको वा कुनै अपराध गरेको प्रमाण छैन। जारी गर्न लागिएको चेतावनीको उद्देश्य त्यस्ता गतिविधिलाई रोक्ने प्रयास गर्नु र वर्तमान कर्मचारी र उद्योग साझेदारहरूलाई संवेदनशील जानकारीको सुरक्षा गर्नका लागि झकझकाउनु भएको बताइएको छ।

‘हामीले चीनमा पिपल्स लिबरेशन आर्मीका कर्मचारीहरूलाई तालिम दिनको लागि हेडहन्ट सेवा गर्ने र त्यसका निम्ति यूकेको सशस्त्र सेनाका वर्तमान तथा पूर्व पाइलटहरू ताक्ने चिनियाँ भर्ती योजनाहरू रोक्न निर्णायक कदमहरू चालिरहेका छौँ,’ रक्षा मन्त्रालयका एक प्रवक्ताले भने।

प्रवक्ताले भने, ‘सबै सेवारत र पूर्व कर्मचारीहरू गोपनीयता सम्बन्धी ऐनको अधीनमा छन्। र हामी गोपनीयता सम्बन्धी सम्झौताहरू कसरी प्रयोग भएका छन् भन्नेबारे समीक्षा गर्दैछौँ। त्यस्तै नयाँ राष्ट्रिय सुरक्षा विधेयकले समकालीन सुरक्षा चुनौतीहरूको सामना गर्न थप मद्दत गर्नेछ।’-बीबीसी

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : ०१ बजे