सुनको मूल्यमा नयाँ कीर्तिमान

गण्डकीका अमृतलाई स्क्वासमा स्वर्ण पदक

काठमाडौं । गण्डकी प्रदेशको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा सोमबार एक स्वर्ण पदक जितेको छ । पोखरा रंगशाला परिसरस्थित स्क्वास हलमा सोमबार सम्पन्न पुरुष खुल्लाको फाइनलमा गण्डकीका अमृत थापा मगरले पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै बागमतीका अरहन्तकेशर सिंहलाई ३–२ को नतिजामा पराजित गरे ।

अरहन्तकेशरले रजत पदक हात पार्दा सेमिफाइनलमा पराजित भएका गण्डकीका दीपक तथा र बागमतीका अमिर भ्लोनले कांस्य पदकमा चित्त बुझाए । सेमिफाइनलमा अमृतले दीपकलाई ३–१ तथा अन्तले भ्लोनलाई ३० को सोझो सेटमा हराएका थिए ।

नवौं वृहत् राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा पुरुष र महिला खुल्ला तथा पुरुष टिम इभेन्ट्स गरी तीन स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ ।

महिला खुल्लामा सात खेलाडीको मात्र सहभागिता रहेकाले प्रतिस्पर्धीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गराइरहिएको छ ।

समूह ‘ए’ बाट कृष्णा थापा र भावना सुनुवार तथा समूह ‘बी’बाट बिपना ब्लोन र स्वस्थानी श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चारै खेलाडीको कांस्य पदक पक्का भइसकेको छ । फाइनल पुग्नका लागि कृष्णाले स्वस्थानी तथा बिपनाले भावनासँग प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टिम इभेन्ट्सतर्फ प्रारम्भिक चरणका खेलहरू भइरहेका छन् । स्क्वासको बाँकी दुई स्पर्धामा स्वर्ण पदकको छिनोफानो बिहीबार गर्ने तालिका छ । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ३१ बजे