सुनको मूल्यमा नयाँ कीर्तिमान

शेख रसेल कप चेसमा नेपालको दोस्रो हार

काठमाडौँ । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ । 

बङ्गलादेशको राजधानी ढाकामा जारी च्याम्पियनसिप अन्तर्गत आइतबार सम्पन्न चौथो राउण्डको खेलमा श्रीलङ्कासँग ०.५–३.५ ले हार व्यहोरेसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ ।

चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अङ्क जोड्न सफल भए । तेस्रो बोर्डमा प्रतिस्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफूभन्दा उच्च वरियताका श्रीलङ्काली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल भए । 

उता पहिलो बोर्डमा प्रतिस्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलङ्काली ईन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुन पुगे । 

त्यसैगरी दोस्रो बोर्डको खेलमा फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोर्न पुगे भने चौथो बोर्डमा खेलेका राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित भए । 

चार राउण्डको समाप्तिमा आयोजक बङ्गलादेश ८ अङ्कका साथ शीर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी श्रीलङ्का ६ अङ्कका साथ दोस्रो स्थानमा उक्लिन सफल भएको छ । समान चार चार अङ्क बनाएका नेपाल तथा पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको च्याम्पियनसिपमा सोमबार लिग चरणका खेलहरू सम्पन्न हुनेछन् । पाचौँ तथा अन्तिम राउण्डमा नेपालले आयोजक बङ्गलादेशको सामना गर्नेछ । सुपर लिग प्रवेशका लागि नेपालको गणितीय सम्भावना कायम नै रहेको छ । 

च्याम्पियनसिपको फम्र्याट अनुसार पहिलो चरणको लिगबाट शीर्ष ३ मा रहन सफल टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेस्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सुपर लिगमा प्रवेश गर्न नसके पनि समग्रमा चौथो हुने टोलीले १ हजार अमेरिकी डलर नगद प्राप्त गर्नेछन् । 

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ११ बजे