अख्तियार नेपालगञ्जमा वर्षमा चार सय ७५ उजुरी

खजुरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा एक वर्षमा चार सय ७५ उजुरी दर्ता भएका छन् ।

गत आव २०७८/७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७÷७८ बाट जिम्मेवारी सरेर आएका दुई सय ७३ उजुरी फछ्र्योट हुन सकेका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आवको अन्त्यसम्म सात सय ४८ उजुरी फछ्र्योटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फछ्र्योट गर्न सफल भएको कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले बताउनुभयो ।

आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आव २०७८÷७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका एक सय ५६ र गत आवमा परेकामध्ये तीन सय ६८ गरी पाँच सय २४ उजुरी फछ्र्योट भएका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा आव २०७८÷७९ को अन्त्यसम्मका सात सय ४८ मध्ये विस्तृत अनुसन्धानका लागि ३५ उजुरी गएका छन् भने एक सय ७७ सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको सङ्ख्या ३६ रहेको सूचना अधिकारी टण्डनको भनाइ छ ।

टण्डनका अनुसार दुई सय ७६ उजुरीमा अन्य कारवाही भएका छन् । सम्पर्क कार्यालयमा विभिन्न माध्यममार्फत परेका उजुरीमध्ये दुई सय २४ वटा चालू आर्थिक वर्ष २०७९÷८० का लागि सरेर आएका छन् । अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा देशभर परेका उजुरीमध्ये ७० दलमलव ६ प्रतिशत उजुरी फछ्र्योट भएको जनाएको छ । 

चार जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि हालसम्म एक सय १६  उजुरी दर्ता भइसकेका छन् । विभिन्न माध्यमबाट एक सय १६ उजुरी दर्ता भएका हुन् । 

चालू आवको साउनमा ५६, भदौमा ३९ र असोजमा २१ उजुरी दर्ता भएका छन् । सम्पर्क कार्यालयमा हुलाकमार्फत ४२, समाचारपत्रमार्फत चार, लिखित निवेदन ३१, टोलिफोनबाट नौ, इमेलमार्फत ३० उजुरी दर्ता भएका थिए । अहिले कार्यालयको फेसबुक पेज, हटलाइन नम्बर १०७, इमेललगायत माध्यमबाट उजुरी दिने व्यवस्था रहेको कार्यालयका सूचना अधिकारी टण्डनले बताउनुभयो । उहाँका अनुसार अख्तियारमा सबैभन्दा बढी स्थानीय तहअन्तर्गत योजना विकास निर्माण, कर्मचारी नियुक्तिको प्रक्रिया, सरकारी जग्गा अतिक्रमण, सामुदायिक वनका विवाद, जस्ता उजुरी आउने गर्दछ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ४२ बजे