मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

समृद्ध दोलखाको योजना साकार पार्नेछु : बालकृष्ण शिवाकोटी

दोलखा । नेकपा एमाले दोलखाको प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीले समृद्ध दोलखाको योजना साकार पार्न आफ्नो उम्मेद्वारी भएको बताउनुभएको छ । 

​​​​​​​मेलुङ गाउँपालिकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै शिवकोटीले यस्तो बताउनुभएको हो । सभालाई प्रदेशसभा ‘क’ का उम्मेद्वार नबहादुर श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो ।  
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले  दोलखाले चुनावी अभियान सुरु गर्नुअघि स्थानीय कमिटीहरुको अगुवाईमा मेलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकामा उम्मेद्वारहरु मतदाता भेटघाट, आन्तरिक बैठक र चुनावी कोणसभामा सहभागी हुनुभएको छ । 

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेद्वार शिवाकोटीले चुनावी प्रचारमा उठाइएका मुद्दालाई कार्यान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । समृद्ध दोलखा निर्माणका लागि आफू लामो समयदेखि क्रियाशील रहेको बताउनुहुँदै उहाँले विजयी भएपछि त्यसलाई साकार पार्ने लक्ष्य रहेको बताउनुभयो । त्यस्तै, दोलखाको समग्र क्षेत्रको विकासलाई ध्यान दिँदै अधुरा काम सम्पन्न गर्ने, स्थानीय तहसँग समन्वय गरेर स्थानीयस्तरमै समस्या समाधानका लागि कार्ययोजना अगाडि बढाउने योजना रहेको पनि उहाँले बताउनुभयोे । 

त्यस्तै, प्रदेश ‘क’ का उम्मेद्वार श्रेष्ठले दोलखाको पूर्वाधार, पयर्टन, जलस्रोत क्षेत्रको विकासका लागि सुस्पष्ट योजनासहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दोलखालाई प्रदेशकै नमूनायोग्य जिल्ला बनाउन अगुवाई गर्ने, अधुरा योजना पूरा गर्न अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रममा एमाले जिल्ला सचिव तथा मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, जिल्ला कमिटीका उपसचिव धर्मेन्द्र मोक्तानलगायत सहभागी हुनुहुन्थ्यो । 

एमाले दोलखाले ३१ असोजमा जिल्ला कमिटी बैठकबाट प्रदेश ‘क’ र ‘ख’ का नौ वटै पालिका र ७४ वटा वडाहरुमा घरदैलो चुनावी अभियान कार्यक्रम घोषणा गर्दैछ । अभियानअघि उम्मेद्वारहरु पार्टीका अगुवा नेता–कार्यकर्ता र मतदाता भेटघाट कार्यक्रममा सकृय हुनुहुन्छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ३५ बजे