मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

पूर्व मन्त्री श्रेष्ठद्वारा निर्वाचन आचारसंहिता विपरीत मतदाता प्रभावित पार्ने प्रयास

​​​​​​​बारा । वैदेशिक रोजगारीमा जाने युवाको प्रि–अन्तर्वार्ता भन्दै  पूर्व श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान ले निर्वाचन आचारसंहिता विपरीत मतदाता प्रभावित पार्ने प्रयास गर्नुभएको छ । 

बारा क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न लगाउनुभएको हो ।

श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरूको अन्तर्वार्ता राखेको हो । 

दुई दिनसम्म चल्ने उक्त अन्तर्वार्ता लिने स्थानमा पूर्व मन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसक्नुभएका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गर्नुभएको हो । 

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्व श्रम मन्त्री श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम अन्तर्वार्ता राखिएको बताउनुभयो । 

शर्माका अनुसार प्रि–अन्तर्वार्तामा छनौट भएकाहरूलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाडौँमा बोलाइने र तीन महिनाको प्रक्रियापछि मलेसिया पठाइनेछ ।

मतदातालाई प्रभावित पार्ने उद्देश्यसहित उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएपछि अन्य राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीतका कार्य गरिएको भन्दै आपत्ति जनाएका छन् । 

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उम्मेदवारको ब्यानर र पार्टीको झण्डा हटाउन प्रहरी परिचालन गरिसकेको जानकारी दिनुभयो ।

फ्री भिसा र फ्री टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले सात सय ५० जना कामदार माग गरेको सूचना निकालेको थियो । सोही सूचना बमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएको हो ।

उक्त कम्पनीले यसअघि तनहुँमा पनि अन्तर्वार्ता राखेको थियो । तनहुँ पूर्व मन्त्री श्रेष्ठको गृह जिल्ला हो । नेकपा एकीकृत समाजवादीका नेता समेत रहनुभएका श्रेष्ठले सत्ता शक्तिको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न खोजेको स्थानीय रमेश साहले बताउनुभयो ।

अन्तर्वार्ताका लागि सर्लाही, मोरङ, सुनसरीसहित देशका विभिन्न स्थानबाट युवाहरू परवानीपुर आएका छन् । तर म्यानपावर कम्पनीले भने बारा क्षेत्र नं. ४ का युवाको मात्रै अन्तर्वार्ता लिने भनेपछि अन्य जिल्लाबाट आएका युवाहरू अलपत्र परेका छन् । 

सर्लाही मलंगवाबाट आएका होजेन्द्रकुमार यादवले म्यानपावर कम्पनीले सूचना गरे बमोजिम आफू आएको तर यहाँ आएपछि निर्वाचन क्षेत्र नं.४ का युवाहरूको मात्रै अन्तर्वार्ता लिने भनेपछि आफूहरू अलपत्र परेको बताउनुभयो ।

अन्य जिल्लाबाट आएका युवालाई फर्काउँदै नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू यति बेला स्थानीय युवा खोज्न गाउँमा परिचालित भएका छन् ।  फ्री भिसा, फ्री टिकटमा मलेसिया लैजाने भन्दै गाउँबाट युवाहरू खोजेर अन्तर्वार्तामा ल्याउन समाजवादीका कार्यकर्ता परिचालित भएका हुन् । 

चुनावी अभियानका क्रममा पूर्व मन्त्र श्रेष्ठले बेरोजगार युवालाई आफ्नै क्षेत्रमा रोजगारी दिने र रोजगारको वातावरण बनाउने बताउने गर्नुभएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : २० बजे