पिपुल्स हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौँ । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आफ्नो जारी पुँजी रू. ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अङ्कित मूल्यका ३२ लाख कित्ता आइपिओ निष्कासन गरेको हो । 

उक्त आइपिओ मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिका, तत्कालीन ढोढेनी र फलेनी वडा नं ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आज बैङ्किङ समयसम्म आवेदन दिने सक्नेछन् । 

आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ ।

कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताले उक्त आईपीओमा ग्लोबल आईएमई बैङ्कको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्टर, एनएमबि बैङ्कको भोटेओडार शाखा, सिद्धार्थ बैङ्कको बेंसीशहर शाखा र सिभिल बैङ्कको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : २६ बजे