मनसुन क्रमशः कमजोर हुँदै

युवाहरूलाई रोजगारी र उद्यमशीलतामा जोड्न आवश्यक : विनोद ढकाल

​​​​​​​विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालले कम्तीमा ५ हजार युवालाई रोजगार दिलाउने बताउनुभएको छ । 

शनिवार बेलबारी –५ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न पनि युवाहरूलाई रोजगारी र उद्यमशीलतामा जोड्न आवश्यक रहेको बताउनुभयो ।

 

“यस क्षेत्रका युवाहरूको रुचि अनुसार सिपमूलक तालिम र क्षमता विकास गरी रोजगारीमा लगाइने छ ।”, उहाँले भन्नुभयो –“उद्यममा जोडिन चाहनेलाई प्रोत्साहन गरिनेछ ।” 

यस्तै मोरङ क्षेत्र नं. ४ कृषि प्रधान क्षेत्र रहेको भन्दै उहाँले यहाँका सबै कृषकका खेतमा सिँचाइको सुविधा पुर्‍याइने बताउनुभयो । सिँचाई नपुगेका क्षेत्रमा सामूहिक बोरिङको व्यवस्था गरी सिँचाई पुर्‍याइने बताउनुभयो । 

शिक्षाका पहुँचमा नपुगेका यस क्षेत्रका हरेक बालबालिकालाई अनिवार्य विद्यालय शिक्षाको व्यवस्था गर्ने, सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि गर्न जोड दिइने बताउनुभयो । “सबै बालबालिका विद्यालय जान्छन्, गुणस्तरीय शिक्षा लिन्छन् ।” उहाँले भन्नुभयो –“यहाँका सामुदायिक विद्यालयमा प्राविधिक र रोजगारमूलक शिक्षाको व्यवस्था गरिनेछ ।” 

उहाँले यस क्षेत्रका जनताको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमका साथै निःशुल्क स्वास्थ्य बिमा, सार्वजनिक शौचालय, कृषि उत्पादनको सहज बजारको व्यवस्था मिलाइने बताउनुभयो । 

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : २३ बजे