सुनको मूल्यमा नयाँ कीर्तिमान

शेख रसेल कप चेसमा नेपालको मध्यम प्रदर्शन

​​​​​​​काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपाली टिमले मध्यम प्रदर्शन गरिरहेको छ । 

बिहीबार साँझ सम्पन्न लिग चरणको पहिलो खेलमा भुटानलाई ४–० को हराउन सफल नेपाल शुक्रवार माल्दिभ्ससँग २.५–१.५ ले पराजित भयो ।

भुटान विरुद्धको पहिलो खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राज भण्डारीले भुटानका कर्मा सोनामलाई हराए भने अर्का फिडेमास्टर बिलमलाल श्रेष्ठले विनोद राई माथि जित हात पारे । त्यसैगरी सिंगेश्वर दासले सोनाम छोदेन तथा राजेन्द्र बज्राचार्यले निदुप साङ्गेलाई पराजित गर्न सफल भए ।

दोस्रो राउण्डको खेलमा नेपालका सिंगेश्वर दासले माल्दिभ्सका अमन ईब्राहिम अहमदमाथी सानदार जित हात पारे भने फिडेमास्टर बिलमलाल श्रेष्ठले क्यान्डिडेटमास्टर मोहमद हसनसँग बराबरीको नतिजा निकाले । उता फिडेमास्टर रिजेन्द्र राज भण्डारी र राजेन्द्र बज्राचार्य क्रमशः फिडेमास्टर मुहम्मद सुहाउ एवं क्यान्डिडेटमास्टर अब्दुल रहमान अलीसँग पराजित हुन पुगे।

दुई राउण्डको खेल सकिँदा बङ्गलादेश ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने २ अङ्क बनाएको नेपाल दोस्रो स्थानमा उक्लेको छ ।

आयोजक बङ्गलादेश सहित नेपाल, भुटान, श्रीलङ्का, माल्दिभ्स र पाकिस्तानको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोविन प्रणाली अनुसार दुई चरणमा सम्पन्न हुनेछ ।

 

पहिलो चरणमा उत्कृष्ट हुन सफल ३ टिमले सुपर लिगमा प्रवेश पाउनेछन् । सुपर लिगबाट प्रतियोगिताको विजेता निर्धारण हुनेछ । सुपर लिगमा प्रथम हुने टोलीले ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । 

त्यसैगरी दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर, तेस्रो हुने टोलीले २ हजार तथा चौथो स्थानमा रहने टोलीले १ हजार अमेरिकी डलर नगद हात पार्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ३४ बजे