एमाले विरुद्ध खटिएका प्रचण्डका अन्तिम प्यादा घनश्याम

कामरेड प्रचण्डले एमाले होडल्ने ( सके कब्जा र नसके विद्रोह नामको घोषित)  अन्तिम किस्ताका रूपमा सजाएर राखेका एक पात्र घनश्याम भुसाल रहेछन् भन्ने अहिले आएर छर्लङ्गै भएको छ । उनले त्यो कार्यको अन्तिम किस्ता इमानदारिता पूर्वक प्रचण्डलाई बुझाएर आफ्नो नुनको सोझो गरेका छन् । अर्थात् उनी बाँदर नीतिभन्दा पनि खतरनाक प्रचण्डको चपर्चन्ड नीति ( आफ्नो घर पनि बनाउँदै भत्काउँदै हिँड्ने र अरूका घर पनि भत्काउँदै हिँड्ने अर्थात् प्रचण्ड पथ) को बफादार वस्तु बनेको आफै पुष्टि गरेका छन्  । 

उनको यो राजीनामा केबल केपी ओलीसँगको असन्तुष्टि मात्र होइन, केपी ओलीले उनलाई पेलेको वा बेवास्ता गरेको परिणाम पनि होइन । उनी १० बुँदेपछि पार्टी र नेतृत्वप्रति जेजस्ता बोली र व्यवहार देखाए त्यसको अन्तिम परिणति मात्र हो यो ।  पार्टीभित्र बसेर जहिल्यै नेतृत्व र पार्टीप्रति जुन उनले विषवमन गरिरहे त्यसो गरिरहँदा पनि केपी ओलीले भीष्मपितामहले झैँ घनश्यामले वर्षाएका गालीका शरशैयामा सुतिरहे । उनलाई एमालेको शीर्ष नेता मानिरहे । तर आज जाबो एउटा टिकट नपाउँदा उनले देखाएको बेहोरा देखेर उनले प्रचण्डबाट लिएको अन्तिम सुपारीको गुन तिर्न यो सारा नौटङ्की गरेका रहेछन् भन्ने उनको पूर्व कार्यको विवरणले प्रष्टै पारेको छ । 

जसबाट जे जति नुन लिएका छन् इमानदारीपूर्वक त्यसको सोझो घनश्यामले गरेका हुन् भन्ने विभिन्न दृष्टान्तहरूले पुष्टि गरेकै छन् । अहिले त नेकपा एमालेलाई चुनावका मुखमा अन्तिम धक्का दिन सकिन्छ कि भनेर पाल्तु वस्तुको कर्म उनले पूरा गरेका मात्र हुन् भन्ने कुरा उनका हाउभाउ र बानीबेहोरा हेरेर थाहा भइहाल्ने कुरो थियो । 

हो, घनश्याम भुसाल नेकपा एमालेका सोपिस नेता थिए । उनी गफ, सिद्धान्त र भाषणका लागि धुरन्धर थिए । टाउको झट्कारेर मार्क्सवादको सिद्धान्तका सूत्र सुनाउने उनी मार्क्सवादका वेदपाठी ब्राह्मण जस्तै थिए ।  भुसाल मार्क्सवादी सिद्धान्तका ठेली र समाजवाददेखि दलाल पुँजीवाद सम्मका कक्षामा धुरन्धर पढाउन सक्ने विद्वान् व्यक्तित्व हुन् भन्नेमा कसैको द्विमत छैन । तर पदमा पुगेका बेला उनले खोक्ने गरेको मार्क्सवादलाई उनले कसरी दुरुपयोग गरे भन्ने कुरो त किसानलाई समयमा मल नदिएर धुरुधुरु रुवाएको त्यो घटनाले पुष्टि गरेकै छ । एकातिर पार्टी अनुशासनबारे खोक्ने अर्कातिर पार्टी अनुशासन उल्लङ्घनमा, पार्टी नेतृत्व खुइल्याउनमा न्वारानदेखिको बल लगाएर उफ्रने उनी विचित्रका नेता हुन् ।  १० बुँदेअघि र १० बुँदेपछि भूसालले जेजस्ता बानी बेहोरा देखाए त्यस्ता बेहोरा देखाउनेलाई पनि नेकपा एमालेका नेताका रूपमा आम मान्छेले उनलाई मानेकै थिए भन्ने कुरो दुनियाँले बुझेकै छ । १० बुँदेबाट आएका गोकर्ण, योगेश, रघु पन्त र सुरेन्द्र पाण्डेहरूले निरन्तर पार्टी र नेतृत्वका पक्षमा डटेर लागेको दुनियाँले देखेकै छ भने भुसालले पार्टीको विरोधमा भित्रभित्रै प्रचण्डको घरबाट ल्याएको आगो पार्टीको भुसमा सल्काएर घरै डढाउन खोजेको अहिले आएर पुष्टि भइछाड्यो । 

आफ्नो सरकार गिराउने, परमादेश माग्ने, गठबन्धन सरकार बनाउने अनि फेरि नेकपा एमालेको नेता पनि भइरहने र सूर्यमा मतदान दिएका जनता तमाम एमाले जनले उनलाई नेता पनि मानिरहनुपर्ने जुन पूर्व जन्मको सराप भोग्न नेकपा एमालेका कार्यकर्ता विवश थिए त्यसबाट हाललाई हाइसन्चो भएको छ ।

“लोभी भान्सा पस्दैन पदुवा अघि लाग्दैन: भने झैँ जिम्मेवारी भनेपछि १० हात पर भाग्ने १० भाइका यी नाइकेलाई केपी ओलीले कृषि मन्त्रालयको भान्सामा डाडु पन्युँ दिएर पसाले । त्यति बेला  कृषि क्रान्तिका गफ गरेर नथाक्ने घनश्याम भुसाललाई केपी ओलीले कृषि मन्त्री बनाइदिए । तर उनले त्यस बेला जे जे गरे सबै प्रचण्डकै नुनका सोझोका निम्ति गरे । उनले मन्त्री हुँदा राष्ट्रिय कफी विकास बोर्डको कार्यकारी नियुक्त गर्दा होस् वा अरू कुनै नियुक्ति उनको नजर माओवादी बाहेक अन्यत्र परेन । उनी जस्ता धुरन्धर र महान्  व्यक्ति मन्त्री पाउँदा त्यति बेला किसानहरूले मल नपाएर हरिबिजोग भएको देखेकै हो । अर्थात् उनी जनता र कृषकप्रति यति गैर जिम्मेवार र प्रचण्डप्रति यति बफादार भए कि ठेक्का पट्टामा बदनाम बनेको चर्चित घरबेटीलाई उनले मलको ठेक्का दिए ।  नेपाली किसानका खेतमा मल नपाएर धान धुरुधुरु रोइरहेको बेला यिनी घरबेटीमार्फत कामरेड प्रचण्डको ढुकुटी भर्न र किसानको आत्मा मार्न  अनि प्रचण्डका ओठमा मुस्कान ल्याउन उनी उद्यत भए ।  त्यति बेला  नेपालमा कृषकलाई मल ल्याउने ठेक्का प्रचण्डकै घरबेटीलाई त्यति बेला किन दिएका रहेछन् भन्ने कुरो त अहिले क्रमशः खुल्दै छ ।

टिकट नपाएकै राती खुमलटार संवाद हुनु र गठबन्धन नामको कुइगन्धे कुतत्त्वसँग रातारात रमाउनु अनि केपी ओलीलाई सत्तोसराप गर्दै एमाले परित्याग गर्नुले उनको विचार र सिद्धान्त चाहिँ पुराण भन्ने पण्डितको “खोलाका माछा र पुस्तकका माछा”  भन्ने आहानसँग ठ्याक्कै मिल्दो रहेछ भन्ने पुष्टि हुन्छ । 

घनश्याम गएर नेकपा एमालेको घनश्याम ( कालो बादल ) हटेको ठान्दा हुनेछ र प्रचण्डको एमाले सक्छु भन्ने सपनाको अन्तिम किस्ता तुहेको ठान्दा हुनेछ । यी घटनाक्रमले घनश्याम एमालेमाथि प्रहार गर्न पालित र पोषित अन्तिम प्यादा रहेछन् भन्ने पुष्टि भएकै छ ।    

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ४० बजे