मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु 

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो ।  

उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका–१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई  ठक्कर दिएको हो । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ०९ बजे