राष्ट्र बैङ्कले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

काठमाडौँ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । 

बैङ्क तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैङ्कले ७ दिने रिपो जारी गर्न लागेको हो । 

बैङ्किङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १० : १७ बजे