तनहुँमा दुई लाख ४८ हजार मतदाता

तनहुँ । आगामी मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेशको निर्वाचनमा तनहुँबाट दुई लाख ४८ हजार चार सय ९५ मतदाता सहभागी हुँदैछन् ।  

गत जेठ महिनादेखि यता चार हजार एक सय ५५ नयाँ मतदाता थपिएपछि उक्त सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

विसं २०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गरेका थिए । 

अस्थायी मतदान केन्द्र 
​​​​​​​त्यसैगरी आगामी मङ्सिर ४ गते हुन गइरहेको सङ्घीय तथा प्रदेशको निर्वाचनमा मतदान केन्द्र, मतदान स्थलको साथै अस्थायी मतदान केन्द्र रहने छ । 

सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, कैदीबन्दी र आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी अस्थायी मतदान केन्द्र स्थापना गर्न लागेको हो ।

सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले सङ्घीय संसद्को समानुपातिक उम्मेदवारलाई मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले जानकारी दिनुभयो । 

अन्यको हकमा भने सङ्घीय र प्रदेश दुवै उम्मेदवारलाई मतदान गर्न पाउने छन् । उहाँले भन्नुभयो, “अस्थायी मतदान केन्द्र निर्धारण गर्न बाँकी रहे पनि यस जिल्लाको हकमा बढीमा तीनदेखि चार वटासम्म हुन सक्छ ।” उक्त निर्वाचनमा यस जिल्लाबाट पुरुष एक लाख १९ हजार छ सय ५० र महिलातर्फ एक लाख २८ हजार आठ सय ४५ जनाले मतदान गर्दै छन् । 

आवश्यकताको आधारमा निर्वाचन आयोगलाई अस्थायी मतदान केन्द्रको लागि सिफारिस गरी पठाइनेछ । उहाँले भन्नुभयो, “मतदान गर्नबाट कोही पनि नछुटुन् भनी आयोगले यस किसिमको कार्य व्यवस्था गरेको छ ।” 

जिल्लाका ८५ वडामा गरी एक सय ४२ मतदान स्थल र तीन सय पाँच मतदान केन्द्र रहेको उहाँले जानकारी दिनुभयो । तनहुँका दुई निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका गरी ५७ उम्मेदवार चुनावी मैदानमा छन् । रासस

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १० : ०५ बजे