‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पार्टीभित्रका समस्या समाधान गर ! लोकतन्त्रप्रति जनताको विश्वास जगाऊ ! 

लोकतन्त्र राजनीतिक दलहरूका लागि मात्र होइन । लोकतन्त्र भनेको सम्पूर्ण जनताका लागि हो, खास गरी नागरिक अधिकार र कर्तव्यका लागि हो । लोकतन्त्र असङ्गठित हुलको बलमा प्राप्त हुँदैन, भएको पनि होइन । लोकतन्त्र सङ्गठित राजनीतिक शक्तिहरूको सङ्गठित प्रयास र नेतृत्वमा प्राप्त भएको हो । यसमा राजनीतिक पार्टीहरू, नेताहरू, लोकतन्त्र पक्षधर जनताको ठुलो लगानी रहेको छ । लोकतन्त्र प्राप्तिमा भएका लगानी ठुलो छ । यसमा धेरै मानिसहरूले आफ्नो सुन्दर जीवन र ज्यान समर्पण गरेका छन् । लोकतन्त्र प्राप्तिका लागि धेरैले ज्यान गुमाउनु परेको हो, धेरैले घरजम गरी परिवार बसाउन नपाएको हो, धेरैले जेलका काल कोठरीमा लामो समय बिताएको हो, धेरैले नेल र हतकडीको बन्धन र भारी बोक्नु परेको हो, धेरैको अङ्गभङ्ग भएको हो, धेरैको काख रित्तिएको हो । धेरैका टिका सिन्दूर पुछिएको हो, पोते चुँडेको हो, धेरै अत्तोपत्तो नहुने गरी बेपत्ता भएको हो । 

यति मात्र कहाँ हो र ? पछिल्लो कालमा (वि.स.२०५२—०६३) होनहार नेपाली सन्तानको मृत्यु, जीवितहरूले पाएको यातना, विदेशीहरूसँग बिन्ती गरेर प्राप्त भएका अनुदान तथा गर्भमै रहेका हरेक नेपालीको टाउकोमा समेत ऋणको ठुलो भारी बोकाएको रकमबाट बनेका भौतिक पूर्वाधारका संरचनाहरू ध्वस्त भएको हो । 

प्राचीन सांस्कृतिक सम्पदा, संस्कृति समेत सिकार भएको हो । यी र यस्ता अनेकौँ कहाली लाग्दा घटना, दुर्घटना, हत्या, हिंसा आदि समेत लोकतन्त्रका लागि भनेर भएकै हो । परिवर्तन वा रूपान्तरणका आन्दोलन तथा क्रान्तिमा हुने क्षति स्वाभाविकै हो, तर नेता र नेतृत्वका कारणले भएका अतिरिक्त क्षतिको हिसाब कोसँग माग्ने हो ? यसको हिसाब किताब पनि यही लोकतन्त्रको खातामा लेखिएको छ । यी सबै कारणले यो लोकतन्त्र सस्तो  छैन, यो कसैको मात्र पेवा होइन । यो लोकतन्त्र आन्दोलनमा लागेका मानिसहरूका लागि मात्र होइन, यसका लागि क्षति बेहोर्न परेकाहरूका लागि पनि हो । किन भने लोकतन्त्र आग्रह, पूर्वाग्रह, बदला, प्रतिशोधको विषय होइन, खाली आन्दोलनका विजयीहरूले लोकतन्त्रको नेतृत्व गर्ने हो र यसको पराजित पक्षले पनि लोकतन्त्र उपयोग गर्न पाउने सुनिश्चितता हो । हार्नेले हारसँगै आफ्नो सजाय पाइसके तर विजयीहरूमाथि ठुलो दायित्वको भारी छ र यो थपिँदै जाने हो । 

राजनीति सधैँ आफैमा आन्दोलन हो । आन्दोलन निरन्तरताको नाम हो । आन्दोलनका रूप, सन्दर्भ र पात्रहरू फेरिनु स्वाभाविक हो । राजनीति दर्शनमा आधारित हुन्छ र हुनुपर्दछ । राजनीतिलाई नीति, सिद्धान्तको मार्गदर्शनमा नेताहरूले—नेतृत्वले सुसङ्गत ढङ्गले हाँक्ने हो । त्यसैले राजनीतिमा, आन्दोलनमा कुनै नेता एकल रूपमा व्यक्ति वीर हुन पाउँदैन । सबै थोक मै हुँ भन्ने विचार, विचार र प्रवृत्ति लोकतान्त्रिक हुन सक्दैन । लोकतन्त्र र राजनीति कहीँ पुगेर सुस्ताउने विषय होइन, टुङ्गिने विषय पनि होइन । त्यसैले यसका लागि कोही पनि एक्लो वीर बन्ने प्रयत्न गर्नु उचित हुँदैन । 

अहिले हामी लोकतान्त्रिक संविधान जारी भए पछिको दोस्रो आम निर्वाचनको सँघारमा छौँ । यो सम्पूर्ण नागरिकहरूको सत्ता सञ्चालनमा सहभागी हुने अवसर हो । लोकतन्त्रले दिएको यो अधिकार सबैले सदुपयोग गर्नुपर्दछ । 

पार्टी रोज्न पाइन्छ, नेता—सेवक वा वारेस रोज्न पाइन्छ, तर यसरी रोज्न पाइने सिङ्गो लोकतान्त्रिक व्यवस्था र पद्धतिका विरुद्ध बोल्नु, गतिविधि गर्नु, मपाईँ बन्नु जस्ता विषय लोकतन्त्रका लागि घातक विषय त हुँदै हुन्, यसका लागि योगदान गरेका, नेतृत्व गरेका र सर्वस्व गुमाएकाहरू प्रतिको अपमान हो । 

यस्तो हुनु पछिका कारणहरू के हुन् ? किन लोकतन्त्रप्रति नै मानिसहरूको वितृष्णा बढेको हो ? कसका कारणले, के कारणले मानिसहरू आफैले ल्याएको, आफ्ना लागि ल्याएको लोकतन्त्रका विरुद्ध जुराउँदाजुराउँदै ? यसको लेखाजोखा पनि हुनै पर्दछ । तर, यति बढी जनधन, जीवन र ज्यानको बलिदानबाट प्राप्त व्यवस्था र पद्धतिलाई चुनौती दिने अधिकार कसैलाई छैन । व्यक्ति फेर्न सकिन्छ, व्यवस्था सञ्चालन गर्ने विधिहरूमा, सम्बोधन हुन बाँकी रहेका विषयहरूमा सुधार गर्न सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ, नयाँ ऐन कानुन बनाउन सकिन्छ । यसका लागि पार्टीभित्र, अन्तर पार्टी, सामाजिक आन्दोलन, अभियान र बहस चलाउन सकिन्छ र सक्नुपर्छ । लोकतन्त्रका जगमा लोक—जनता र समाजले पाउनै पर्ने विषय लिन अग्रसर हुन सकिन्छ, तर यसको जगलाई भत्काउन पाइँदैन । 

बहुदलीय लोकतन्त्रका आधार शक्ति लोक नै हुन् । यसका सञ्चालक शक्ति राजनीतिक दल हुन् । राजनीतिक दलहरू जति व्यवस्थित, दूरदर्शी, पारदर्शी, दायित्वशील, सक्षम हुन्छन्, लोकतन्त्र त्यति नै बलियो हुन्छ । उनीहरूले आफ्ना नेता—कार्यकर्ताहरूलाई लोकतन्त्रमा भएको लगानी, यसको महत्त्वका साथै यसका वास्तविक मालिक जनता हुन्, जनताभन्दा माथि कोही छैनन् भन्ने शिक्षा चेतना दिनुपर्ने हो । तर, आफूले भनेजस्तो नहुँदा पार्टी फेर्ने, फोर्ने, पार्टी छोड्ने काम किन भइरहेको छ ? कहाँ र किन चुकेका छन् पार्टीका नेतृत्वहरू ? निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । यसमा सहभागी हुनु पर्वमा सहभागी हुनु हो । तर, यस्तै समयमा दलहरूभित्र खिचातानी, अनबन, अनैतिकताको प्रदर्शन दुःखद विषय हुन् । तपाईँहरूका पार्टी भित्रका विषय आमजनता, राष्ट्र र लोकतन्त्रको वर्तमान र भविष्यसँग जोडिएको छ । त्यसैले तपाईँका पार्टीमाथि सबैले निगरानी गर्नेछन्, टिप्पणी गर्ने छन्, आलोचना गर्ने छन् । त्यसको उचित जवाफ दिने कर्तव्य तपाईँहरूमाथि छ । तपाईँहरूको पार्टीमा भएका खिचलोले लोकतन्त्रलाई कमजोर बनाइरहेको छ । यसतर्फ पार्टी, नेता र नेतृत्वहरूको ध्यान जानै पर्छ । हामी भन्छौँ— पार्टीभित्रका समस्या समाधान गर ! लोकतन्त्रप्रति जनताको विश्वास जगाऊ ! 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : ०२ बजे