साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

ब्रोडब्याण्ड इन्टरनेट जडान द्रुत गतिमा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ । ती स्थानमा जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा आएको छ । 

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार सम्पन्न भएकामध्ये हालसम्म १० परियोजनाको अनुगमन तथा परीक्षणको काम सम्पन्न भइसकेको छ । आठ वटा परियोजनाको तेस्रो चरणअन्तर्गतको अनुगमन तथा परीक्षणको काम बाँकी छ । 

त्यसैगरी सोही कोष परिचालन गरी भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्ने प्रक्रिया अगाडि बढिसकेको प्रवक्ता पौडेलको भनाइ छ । त्यसका लागि हालसम्म कुल ७६ मध्ये ७३ गाउँपालिका÷नगरपालिकासँग समझदारी पत्रका हस्ताक्षर भएको छ ।  

आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न र सम्पूर्ण आधारभूत विद्यालयमा गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबिपीएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्ने प्राधिकरणको योजना छ  । 

प्राधिकरणले भूकम्प प्रभावित आठ जिल्लाका सार्वजनिक संस्थामा इन्टरनेट जडान गरी दुई वर्षसम्मका लागि महसुलबापतको रकम उपलब्ध गराउने भएको छ । 

भूकम्पबाट अति प्रभावित जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट सेवा जडान गरी सञ्चालन गर्ने कार्य अघि बढाएकामा हालसम्म कुल छ सय ५६ मध्ये तीन सय २६ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । रासस

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ३७ बजे