उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण पनि आजै

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्नेछन् । 

आज बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 

उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले आज अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । आज  अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । 

प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ । 

यस्तै प्रदेशसभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेको थियो । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ४४ बजे