एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

सङ्लो मन, विचार र मतले नै भलो गर्ने छ

आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदै छ । अब आफूले मतदान गर्न पाउने र मतदान गर्न पर्ने उम्मेदवार मतदाताले छनोट गर्ने व्यक्तिको टुङ्गो गर्ने समय आयो । पाउने यस अर्थमा कि हरेक मतदाता स्वतन्त्र छ । हरेकले आफूलाई मन पर्ने प्रतिनिधि रोज्ने स्वतन्त्रता छ । चुनाव भनेको चुन्न पाउने अवस्था हो । मत भनेको विचार हो, दान भनेको नफर्कने गरी दिनु हो । सारमा भन्नुपर्दा चुनाव भनेको विचारमा विचार मिलाउने, विचारमा विचार थप्ने र आफ्नो विचारको अभिव्यक्ति दिने वारेस तोक्ने हो । चुनाव नागरिकले राज्यको नीति निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना र विस्तार, राष्ट्रिय हितहरूको संरक्षण र संवर्द्धनका जिम्मेवारी पूरा गर्ने गरी सरकार सञ्चालनमा सहभागी हुने आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न वारेसनामा दिनु हो अर्थात् आफूले राज्य सञ्चालनका विषयमा राख्दै आएका विचार तथा अपेक्षाहरूका लागि विश्वासको दान गर्नु हो । 

हामीमध्ये धेरैले विगतमा पनि यसरी आफ्ना विचारहरू दान गरेका छौँ । यसका लागि केही नयाँ छौँ । यसअघि मतदान गरेकाहरूलाई कसैलाई मतदान गरेकोमा पछुतो भएको होला, केहीलाई मतदान नदिएकोमा पनि पछुतो होला । अब मानिसहरू अर्थात् उम्मेदवारहरू फेरिएका पनि होलान्, कोही कोही दोहोरिएका पनि होलान् । हरेक पाँच वर्षमा हामीले ती पार्टीहरू र हामीले विगतमा छानेका प्रतिनिधिहरूमाथि पुनर्विचार गर्न पाउँछौँ । 

तर, बहुपार्टीय प्रणालीमा व्यक्ति प्रधान नभई पार्टी प्रधान हुन्छ । कानुनी प्रावधान तथा सामाजिक नैतिक बन्धन बाहेक अरू विषय पार्टीको हुन्छ । क्षमता, आवश्यकता, भूमिकाका बारेमा पार्टीले विचार गरेको हुन्छ किन भने आप्mनो पार्टीको प्रतिनिधिको भूमिका कमजोर हुँदा वा भयो भने पार्टीले आफ्नो हिसाबले मुलुकको नेतृत्व गर्न सक्दैन । यस्तो विषयमा पार्टीले ध्यान दिएको हुन्छ । जति नै असल मानिएका, ठानिएका भए पनि पार्टीभन्दा बाहिरका व्यक्तिको भूमिका संसद्मा निर्णायक हुँदैन । त्यसो भएर नै बहुपार्टीय व्यवस्थामा पार्टीमाथि विश्वास गर्ने हो, गरिन्छ र गरिँदै आएको छ । 

हरेक पुराना पार्टीमा विगतमा योगदान गरेका, क्षमता भएका, अनुभवी नेता—कार्यकर्ताहरूको पङ्क्ति ठूलो छ । धेरै नेता—कार्यकर्ताहरू जनताका बीचमा लोकप्रिय पनि छन् । तर, पद सङ्ख्या सीमित हुन्छ । आकाङ्क्षी धेरै हुने र सीमित सङ्ख्यामा रहेको पदमा सबैलाई भाग पुर्‍याउन नसकिने बाध्यता पार्टीहरूका लागि सकसको विषय हुन्छ । सिफारिस गर्नेहरूमध्ये पनि कसैले उत्तम ठहराएको व्यक्ति अर्कोको ठम्याइमा नपर्न सक्दछ । निर्णयकर्तामा पनि यस्तो समस्या हुन्छ । यस्ता विषयलाई स्वाभाविक रूपमा लिनुपर्दछ । 

अहिले केही ठूला पार्टीका केही नाम चलेका नेताहरूले उम्मेदवारी अर्थात् टिकट पाएका छैनन् । केही नयाँले पाएका छन् । सबै नयाँ नै नयाँ वा सबै पुरानै पुराना हुन सक्दैन । पुरानाको पाकोपन र नयाँको नयाँपन दुवै आवश्यक हुन्छ । पुरानो हुँदैमा त्याज्य र नयाँ हुँदैमा ग्रहणीय हुन्छ भन्ने मान्यता राख्नु सही हुँदैन । समाजमा पुराना र नयाँ दुवै थरी मानिस हुने भएकोले पनि त्यही अनुसारको र रोजाइ पनि त्यस्तो हुन्छ, तर एकै पटकमा, एकै समय र ठाउँमा दुवै थरीलाई उम्मेदवार बनाउन सकिँदैन । 

नयाँ चाहिन्छ भन्ने, पुरानाले नपाउँदा कोकोहोलो गर्ने, राजनीति त्याग र विचारको विषय हो भनेर भन्दै सिकाउँदै हिँड्ने अवसर नपाउँदा सर्वस्व गुमेझैँ असन्तुलित बन्ने, पार्टी त्याग्ने, पार्टी परिवर्तन गर्ने, सिद्धान्तको जलप लगाएर स्वार्थ सिद्धिको सोझो बाटो हिँड्न खोज्नेहरूका पक्षमा रोइलो गर्नु उपयुक्त हुँदैन । केही थान नेता, जसलाई पूर्व—पश्चिम, उत्तर—दक्षिणले चिनेको छ, के ती मात्र वैचारिक, सैद्धान्तिक, योग्य, सक्षम, त्यागी हुन् त ? यस्तो हुन सक्दैन । उनीहरूले अवसर पाएर नै, त्यही अवसरको बलमा नै सबैतिर परिचित भएका हुन् । त्यसमा उनीहरूको विचार, सिद्धान्त, योग्यता, क्षमता र त्याले पनि काम गरेको होला, तर त्यसभन्दा बढी पार्टीले दिएको अवसर नै मुख्य हो । नत्र, पुराना पार्टीहरूमा यसरी सबैले नचिनेका—चिनिने अवसर नपाएका प्रचुर योग्यता, क्षमता तथा त्याग तपस्या गरेका अनगिन्ती नेता—कार्यकर्ता छन् । यसतर्फ पनि सचेतनापूर्वक ध्यान दिन आवश्यक छ । 

हो, बरु समावेशी सिद्धान्तको अवलम्बन भयो कि भएन ? समावेशीमा पनि वर्गीयता र क्षमतामा ध्यान दिइयो कि दिइएन ? समावेशी क्षेत्रलाई प्रतिस्पर्धी बनाइयो कि बनाइएन ? समावेशी क्षेत्र अहिले मूलतः बन्द सूची—समानुपातिकमा सीमित पारिएको देखिँदै छ । समानुपातिकमा पनि भूगोल केन्द्रित बनाइएको छ । पार्टीको काम र राष्ट्रको आवश्यकता भूगोल केन्द्रित पार्टी कामले मात्र पूरा हुन सक्छ ? सक्दैन । अहिलेका उम्मेदवारहरूले जितेर प्रतिनिधि बन्ने संसद् र प्रदेश सभामा देश र प्रदेशको यथार्थ अनुहार प्रतिबिम्बित होला  कि नहोला ? त्यस्तो हुने बनाउन भविष्यमा के कसरी अघि बढ्नुपर्ला ? यसतर्फ ध्यान दिनु आवश्यक छ । नयाँ अनुहार र नयाँपन खोज्ने, पुराना परिचित व्यक्तिका बारेमा बढी केन्द्रित भएर सोच्ने कुराले यथास्थितिलाई बल पु¥याउँछ ।  

भविष्यमा पार्टी नेतृत्वहरूले र अहिले नेता—कार्यकर्ता, पार्टीका शुभेच्छुक, मतदाताले राम्रो राजनीतिक विचारका वाहक उम्मेदवारहरूलाई आफ्नो मतद्वारा मनको प्रतिनिधि बनाउने विषयमा विचार पु¥याउनुको विकल्प छैन । बाँडिएर, फाँडिएर सही निष्कर्षमा पुग्न सकिँदैन, सङ्लो मन, विचार र मतले नै हामी सबैको भलो गर्नेछ । 

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : १९ बजे