मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

बाढी पहिरो पीडितको तत्काल उद्धार र उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न गृह प्रशासन, सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

गृहमन्त्री खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिनुभएको छ । 

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाणले निर्देशन दिनुभएको हो ।
 
उहाँले सरकारको मुख्य दायित्व नागरिकको जीवन रक्षा भएकालेले संवेदनशील भएर विपद् प्रभावितको उद्धार र उपचारमा लाग्न पनि भन्नुभएको छ । 
मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पुरिँदा ५ जनाको शव प्राप्त भएको र ११ जना वेपत्ता भएको खबर आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाँउ ठाँउमा पहिरो गरेकाले अफ्टेरो परिरहेको र केही बेरमा पुग्ने जनाकारी आफूले पाएको उहाँले बताउनुभयो । 

त्यस्तै कालिकोटको तिलगुफा नगरपालिका वडा नं ४ राचुली भन्ने स्थानमा मलामीहरूले लासु जलाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुर्दा १३ जना बेपत्ता भएको खबर आएको र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डिआइजी पोखरेलले जानकारी दिनुभयो । सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेको, पहिरो तिला नदीसम्म पुगेको उहाँले बताउनुभयो । 

यता हुम्लाको चखेली गाउँपालिका वडा नं ६ मेलथममा मानबिर बिकको घर पहिरोले बगाउँदा ९ जना पुरिएकामा ४ जनाको मृत्यु भएको र ५ जनाको जीवितै उद्धार गरिएको डिआइजी पोखरेलले बताउनुभयो । घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : १८ बजे