‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आसन्न निर्वाचन: एमालेको खल्तीपिच्छे एजेन्डा, गठबन्धनमा वितण्डा

आम निर्वाचनको प्रत्यक्ष तर्फको मनोनयन मिति नजिकिँदै जाँदा राजनीतिक समीकरणमा फेरबदल हुने सङ्केत देखा परेको छ । जनता समाजवादी पार्टीले गठबन्धन छोड्ने र एमालेसँग चुनावी तालमेलको लागि हात बढाएपछि सत्तारूढ पाँच दलीय गठबन्धनमा दरार पैदा मात्र भएको छैन, सबैलाई गुटमुट्याएर आफ्नो बहुमत ल्याउने कांग्रेसको षडयन्त्रको पनि पर्दाफास भएको छ । 

नेपाली कांग्रेस के मा ढुक्क थियो भने माओवादी केन्द्र र माधव समूहलाई जति पेले पनि उनीहरू फर्केर एमालेसँग गठबन्धन गर्ने अवस्थामा छैनन् । एमाले-लोसपाको तालमेल हुने अवस्थासम्म जसपा एमालेसँग जाँदैन भन्ने नेपाली कांग्रेसको बुझाइ थियो ।

तर परिस्थितिले एकाएक कोल्टे फेर्‍यो । लोसपाका अधिकांश नेता एमाले प्रवेश गरेर एमालेको चुनाव चिन्हमा चुनावी मैदानमा जाने भएका छन् । लोसपाको ठूलो कार्यकर्ता पङ्क्ति र मतदाता पनि एमालेमा रूपान्तरित भइसकेका छन् । एक ढङ्गले भन्ने हो भने अब एमाले-लोसपा तालमेलको आवश्यकता नै छैन । एकातिर जसपालाई देउवा-प्रचण्डले सिट बाँडफाँटमा पेलिरहेको र अर्कोतिर एमाले मधेसमा नेपाली कांग्रेसभन्दा शक्तिशाली भएकोले जसपाले एमालेसँग चुनावी तालमेलको लागि अग्रसर बन्यो । जसपाले एमालेसँग पनि तालमेल गर्न सक्ने फायर खोलेपछि गठबन्धन थप धरापमा परेको छ ।

माओवादी केन्द्र र माधव समूहलाई लिलिपुट बनाउने गरी ती पार्टीका नेता कार्यकर्ताको लगातार एमालेमा प्रवेशले स्वयम् कांग्रेसलाई समेत झस्काएको छ । आफू सत्तामा हुँदासमेत आफ्ना कार्यकर्तालाई एमाले प्रवेश रोक्न नसकेको कांग्रेस माओवादी र समाजवादीमा गएको पहिरो सूक्ष्म ढङ्गले निहालिरहेको छ । उदाहरणको लागि गुल्मीमा रामकुमारी झाँक्रीलाई गठबन्धन उम्मेदवार बनाउन तयार भयो, तर झाँक्रीबाहेक अरू सबै एमालेमै फर्किए । त्यहाँ ‘डालोबाट मानोमा खन्याउन’ नेपाली कांग्रेस तयार भएको थियो, अब डालोबाट कचौरीमा खन्याउन नेपाली कांग्रेस तयार होला कि नहोला ?

 श्रममन्त्री शेरबहादुर कुँवर अछाममा चुनाव लड्ने तयारी गर्दै थिए, माधव नेपालको पावरमा गठबन्धनको साझा उम्मेदवार हुने तारतम्य मिलाउँदै थिए, माधव समूहको सिङ्गो अछाम जिल्ला कमिटी एमालेमा समाहित भयो, फर्कियो । अब ठिङ्गो शेरबहादुर कुँवरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रका सबै मतदाताले शेरबहादुर कुँवरलाई उम्मेदवार बनाएर जिताउलान् ? ०७४ को निर्वाचनमा हुम्लामा स्वतन्त्रले चुनाव जिते पनि ती माननीय छक्कबहादुर लामा माओवादी नेता भएकोले हुम्ला आफ्नो भागमा पर्नु पर्ने बार्गेनिङ गर्दै हुँदो हो, लामा आफ्नो दलबलसहित एमालेमा प्रवेश गरे । अब हुम्लामा गठबन्धनको के हुन्छ रु यस्ता कैयौँ दृष्टान्त दिन सकिन्छ ।

यसरी हेर्दा ०७४ को संसदीय अङ्क गणितको सहायताले देउवा प्रधानमन्त्री बन्न सफल भए पनि ०७९को निर्वाचनमा प्रचण्ड र माधव समूहको मतदाताको अङ्क गणित त्यो अनुसार मिल्दैन । संसदीय खेलमा माहिर नेपाली कांग्रेसका नेताले यो तथ्य नबुझ्ने कुरा भएन । 

चुनाव हुनु करिब डेढ महिना अगाडि नै नेपाली जनताले आगामी पाँच वर्षको लागि एमाले अध्यक्ष के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेजस्तो देखिएको छ । किनभने गठबन्धनले प्रधानमन्त्री पदमा ओलीसँग प्रतिस्पर्धा गराउन शेरबहादुर देउवाभन्दा अर्को व्यक्ति प्रस्तुत गर्ने सम्भावना छैन । गठबन्धन चुनावसम्म नै राम्ररी टिक्ने अवस्था छैन भने चुनावपछि नयाँ समीकरण बन्ने पक्कापक्की नै छ । 

नेपाली जनताले गठबन्धन सरकारको खुट्टी देखिसकेका छन् । ०७४को चुनावमै जनताले प्रधानमन्त्री पदमा पुग्न शेरबहादुर देउवालाई रोकेकै हुन् । उनको प्रधानमन्त्रित्वबाट नेपाली जनता वाक्क भइसकेका छन् । नेकपा विभाजन गराएर देउवाको नेतृत्व जबरजस्ती लादिएको मात्र हो । गठबन्धनसँग नेतृत्व पनि छैन, चुनावको लागि एजेन्डा पनि छैन । ‘काले काले मिलेर खाऊँ भाले’ जस्तो चरित्र देखाएको गठबन्धनले जनताको मन जित्न कुनै चमत्कार गर्ने अवस्था पटक्कै छैन । ‘संविधान र लोकतन्त्र बचाउन गठबन्धन आवश्यक छ’ भन्ने सुगा रटाइबाहेक गठबन्धनसँग केही छैन । 

उता एमालेसँग खल्तीपिच्छे एजेन्डा छन् । आफ्नो सरकारको पालामा प्रचलनमा ल्याएको नेपालको चुच्चे नक्सा छ । मधेसतिर नयाँ रेल छ । पहाडतिर चिल्ला(चिल्ला बाटा घाटा छन् । पुष्पलाल मध्य पहाडी लोक मार्ग र मदन भण्डारी मार्गको धेरै कान ओली सरकारको पालामा सकिएको छ । देशभर ४०१५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कोरिडोर र नयाँ पक्की पुल निर्माण भएका छन् । फास्ट ट्र्याक र सुरुङ मार्ग निर्माणमा तीव्रता पाएको छ । बा आमाको खल्ती ओली सरकारले दिएको भत्ताले भरिएका छन् । भूकम्पले भताभुङ्ग भएको काठमाण्डौ सही सलामत खडा भएको छ । रिङ रोडलाई विस्तारित गरी सुन्दर बनाइएको छ । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन्। जनताले आफ्नो घर दैलोमा इतिहासमै सबभन्दा राम्रो स्वास्थ्य सुविधा पाएका छन् । नेपाललाई भूपरिवेष्टितबाट भू-जडित राष्ट्र बनाइएको छ । यसबाट नेपाललाई दीर्घकालीन फाइदा पुग्ने निश्चित छ । 

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १ : २७ बजे